काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रमा हिमपोखरी फुटेर भीषण बाढी आएको छ ।
बाढीका कारण थामे गाउँका ७० प्रतिशत घर डुबानमा परेका छन् । कयौँ घर पूरै भत्किएका छन् ।
खुम्बु पासाङल्हामु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले टासी लाप्चा क्षेत्रको कुनै एक पोखरी फुटेर बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।
‘गाउँपालिकाको माथिल्लो भागमा रहेको तासिलाक्चा जाने बाटोका कुनै पोखरी फुटेको अनुमान हामीले गरेका छौँ । दूधकोशीको बाढीले मानवीय क्षति भएको जानकारी आएको छैन । तर केही मानिसहरू नदीको बहावका कारण फसेको खबर पाएका छौँ’, उनले भने ।