जनताको निराशालाई आशामा बदल्न सरकार तत्पर छ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको निराशालाई आशामा बदल्ने प्रयासमा सरकार रहेको बताए ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले छोटो अवधिमा पनि सकारात्मक परिणाम देखापर्न थालेको र अहिलेको सरकारलाई काम नगर्ने छुट नरहेको भन्दै जनतामा आशा जगाउन गम्भीर भएर काम गर्नुपर्ने बताएका हुन् ।

शिक्षा स्वास्थ्य लगाएतका क्षेत्रका धेरै अघिदेखिको समस्या समाधानका लागि सरकार दतचित्त भएर लागेको उनले बताए ।

नेपालको राजनीतिमा ऐतिहासिक भूमिका निर्वाह गरेका दल अहिले सरकारमा रहेको भन्दै प्रधानमन्त्री ओलीले आशंका नगर्न आग्रहसमेत गरे ।

भ्रष्टाचारसम्बन्धी प्रकरणमा कुनै सम्झौता नगर्ने र शून्य सहनशीलताका साथ अघि बढ्ने उनले बताए ।

ओलीले भ्रष्टाचारसम्बन्धी बिषयलाई प्रचारबाजीको रुपमा नभई तथ्यका आधारमा निर्मूल पार्ने जिकिर गरे ।

ओलीले अहिलेको सरकारले देखावटी नभइ परिस्थितिमा सकारात्मक परिणाम दिने उद्देश्यका साथ अघि बढेको बताए ।

उनले राष्ट्रको आवश्यकताका आधारमा दलहरुबीचको सहमतिका साथ संविधान संशोधन हुन सक्ने भन्दै यस बिषयमा गलत प्रचारबाजी भएको बताए ।

उनले मनसुनका कारण प्रभावितहरुलाई राहत, पुनर्स्थापनाका साथै अन्य काम सरकारी तवरबाट भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्