काठमाडौं । पोखराबाट काठमाडौंतर्फ आउँदै गर्दा तनहुँको आँबुखैरेनी नजिक ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बस भारतीय रहेको खुलेको छ ।
झण्डै ४० यात्रु रहेका सो बसको नम्बर युपी ५३ एफटी ७६२३ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
पृथ्वी राजमार्गको आँबुखैरेनी-मुग्लिङ सडकखण्डमा पर्ने ऐनापहरा आँबुखैरेनी गाउँपालिका-२ मा पर्छ ।
सो भारतीय बस शुक्रबार बिहान करिब साढे ११ बजेतिर सडकबाट खसेको हो । प्राप्त तस्बिरहरू हेर्दा सो बसको माथिल्लो भाग नै उछिट्टिएर उदाङ्गो भएको छ । सिटमा केही यात्रुहरू देखिइन्छन् भने उद्दार गरिएका यात्रुहरू बस बसेकै भीरमा यत्रतत्र छरिएका छन् ।
पृथ्वी राजमार्गबारे जानकारी दिने सूचनामूलक फेसबुक खाता मुग्लिङ बजारमा प्रविष्ट गरिएका भिडियोहरू हेर्दा बस मर्स्याङ्दी नदीको किनारमै पुगेको छ ।