सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर : प्रचण्ड



काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर भएको बताएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले सरकार अहंकारपूर्ण शैलीमा गलत बाटोतिर अग्रसर भएको बताएका हुन् ।

‘प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा यो सम्मानित रोष्टम म अलिक अगाडि नै पनि उपयोग गर्न सक्थेँ । गरिनँ । किनकि, म सरकारलाई हनिमुन पिरियडसम्मै शंकाको सबै सुविधा दिने पक्षमा थिएँ’, उनले भने, ‘सरकारमाथि पहिलो बहस जनताको अदालतमा होस् भन्ने मेरो चाहना थियो । तर, चालीस दिनभन्दा बढी समयसम्म सरकारको नियत र गन्तव्यको सूक्ष्म अवलोकनपछि म यो निष्कर्षमा पुगेको छु, सरकार अहंकारपूर्ण तर गलत बाटोतिर अग्रसर छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगतिर अग्रसर छ । जनताभन्दा स्वार्थसमूहहरुको, अझ माफियाहरुको सेवामा अग्रसर छ ।’

अब पनि रचनात्मक खबरदारी नगरे धेरै ढिलो हुने र धेरै क्षति हुने उल्लेख गर्दै उनले जनताले संसदमाथि गरिरहेको विश्वास कमजोर हुन नदिन आफूले आजै यो रोस्टममा उभिने निर्णय गरेको बताए ।

‘अहिले नेपाली कांग्रेस र नेकपा (एमाले)का साथीहरू आफूमात्र मिल्नुभएको छैन, आफैले सिध्याउने भनेका जातीय–क्षेत्रीय प्रकृतिका साना दललाई पनि कतै फकाएर, कतै तर्साएर सत्तापक्ष बनाउनुभएको छ’, उनले भने, ‘संख्यात्मक रुपमा प्रतिपक्षीय बेन्च सानो भएको बेला संख्याको बलमा सरकारले जे गरे पनि हुन्छ र गर्न सक्छ भन्ने साथीहरूलाई लागेको हामीले देख्यौं । प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा म आज यही रोष्टमबाट घोषणा गर्छु, सत्ताको कुनै पनि अनैतिकता, बेथिति र बेइमानीको हामी निरीह साक्षी हुने छैनौँ ।’

प्रतिक्रिया दिनुहोस्