डेंगुको सङ्क्रमणबाट चितवनमा थप एकको मृत्यु



चितवन । चितवनमा डेंगुको सङ्क्रमणबाट थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष रहेका छन् ।  उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

ज्वरो आएर उपचारका लागि आएका उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । शुक्रबार अस्पताल भर्ना भएका उनको मङ्गलबार मृत्यु भएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा कल्याण सापकोटाले जानकारी दिए । उनका अनुसार बिरामीमा कडा खालको डेंगु सङ्क्रमण देखिएको थियो । शरीरका विभिन्न भागबाट रक्तश्राव भई अङ्गले काम गर्न छोडेर (मल्टि अर्गान फेलर) उनको मृत्यु भएको हो । 

उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।  यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय वृद्धको डेंगुको सङ्क्रमणका कारण मृत्यु भएको थियो ।  
 
जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका तीन हजार तीन सय ३१ जनाको परीक्षण गर्दा सात सय ८८ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये पाँच सय ८० जना चितवनका र बाँकी अन्य जिल्लाका छन् ।

प्रतिक्रिया दिनुहोस्