भक्तपुरका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको भीड



भक्तपुर । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तिज) पर्वका अवसरमा भक्तपुरका प्रमुख शिवालयमा आज बिहानैदेखि दर्शनार्थी महिलाहरूको भीड लागेको छ ।

ब्रह्मा, विष्णु र महेश्वरको स्वरूप मानिने भक्तपुरको दत्तात्रय मन्दिरमा आज बिहानैदेखि महिलाहरूको भीड लागेको हो । मेला व्यवस्थापन समितिले दर्शनका लागि आएका महिलाहरूको दुई किलोमिटर लामो लाइन लागेपछि टोकन दिएर व्यवस्थापन गरिरहेको छ ।

नेपाल स्काउट, स्थानीय क्लब र महिला सङ्घसङ्गठनले स्वयंसेवकका रूपमा व्यवस्थापनमा सहयोग गरिरहेका छन् भने विभिन्न स्वास्थ्य संस्थानहरूले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । एम्बुलेन्सलाई मन्दिर परिसरमा तयारी अवस्थामा राखिएका छन्भने सुरक्षाका लागि धेरै सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । मन्दिर परिसरमा दर्शनार्थी महिलाको भीड लाग्नुका साथै महिलाहरूले विभिन्न समूहमा नाचगान गरी तिज मनाएका छन् ।

यसैगरी आजै सूर्यविनायक–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि महिलाहरूको भीड लागेको छ । केदारनाथको शिर डोलेश्वर, आशापुरीबाट साँगाको अग्लो कैलाशनाथ महादेवसम्म दर्शनार्थीको भीड लागेको छ ।

मन्दिर विकास तथा संरक्षण समितिका महासचिव हरिशरण बस्नेतले बिहानैदेखि दर्शनार्थीको भीड लागेको जानकारी दिए । यहाँ बर्तालुलाई लक्षित गरी स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको उनले बताए ।

सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । डोलेश्वरमा दर्शन गर्नेहरू आशापुरी जाने गरेकाले दुवै मन्दिरमा दर्शनार्थीको भीड लागेको हो ।

यस्तै सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव मन्दिर, सोमलिङ्गेश्वर महादेव, चरखण्डिश्वर महादेव, वडा नं ४ स्थित अनन्तलिङेश्वर महादेव, वडा नं ५ को सुवर्र्णेश्वर महादेव, वडा नं १० चित्तपोलमा रहेको साँगास्थित अग्लो कैलाशनाथ महादेव, चित्तपोलकै लटरम्बेश्वर महादेव, चाँगुनारायणको यातु महादेव, चाँगुनारायण मन्दिरहरूमा दर्शनार्थीको भीड लागेको छ ।

तीज पर्वमा महिलाहरूले आज निराहार व्रत बसी आफ्ना पति, घरपरिवारको लामो आयु, सुख, समृद्धिको कामना गर्दै साँझ महादेव मन्दिरमा दर्शन तथा नाचगान गर्दै यो पर्व मनाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्