राजविराजको मुख्य सडकमै खाल्डाखुल्डी, दुर्घटनाको जोखिम



सप्तरी । राजविराजस्थित रुपनी मोड नजिक रहेको सडक स्तरोन्नति नहुँदा आवतजावतमा समस्या भइरहेको छ । मुख्य बजारमै रहेको सडक जीर्ण भएर ठुल्ठूला खाल्डा परेका छन् तर मर्मत नहुँदा सास्ती भइरहेको स्थानीय र सवारी चालकले गुनासो गरेका छन् ।

माइक्रोबस चालक सत्यदेव यादवले हुलाकी राजमार्गसमेत पर्ने उक्त सडकमा माटो र ग्राभेल हाल्दा वर्षाले हिलो हुने र फेरि खाल्डो पर्ने गरेकाले झनै समस्या हुने गरेको बताए । रुपनी मोडदेखि हनुमान मन्दिरसम्म वर्षायाममा मात्र नभई अन्य समयमा पनि जीर्ण सडकका कारण दुर्घटनाको जोखिम रहेको उनको भनाइ छ । “उक्त ठाउँमा करिब एक सय मिटर सडक जीर्ण छ तर मर्मतका लागि नगरपालिका र सडक विभागले चासो दिएको छैन”, यादवले भने ।

यही बाटो भएर राजविराज काठमाडौँलगायत स्थानमा लामो तथा छोटो दूरीका बस सञ्चालन हुन्छन् । बस व्यवसायी विजय दासले सडकको दूरावस्थाका कारण दैनिक साना–ठुला दुर्घटना हुने गरेका बताए । उक्त खण्ड तत्काल मर्मत तथा पुनर्निर्माण गरी आवागमन सहज बनाउन उनको आग्रह छ ।

राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत प्रविनले जीर्ण सडक मर्मतका लागि सहजीकरण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्