मङ्गलबारे । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान सुरु भएको छ । केही महिना बन्द रहेको विमानस्थलमा आजदेखि पुन उडान थालिएको हो । गत बिहीबार नै उडान भर्ने भनिए पनि यात्रु नपाएर उडान भएको थिएन ।
यात्रु पाएसँगै आज बिहानबाट उडान सुरु भएको नेपाल एयरलाइन्स सुकिलुम्बा विमानस्थल इलामका इन्चार्ज दिनेश सुन्दासले बताए। उनका अनुसार काठमाडौँबाट इलामका लागि छ जना यात्रु आएको र काठमाडौँका लागि आठ जना यात्रु लिएर गएको छ ।
इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सको २७ सिट क्षमताको जहाजले उडान गरेको छ । अब हप्ताको प्रत्येक बिहीबार नियमित उडान हुने जनाइएको छ ।
बर्खा लाखेसँगै खराब मौसमका कारण साँढे तीन महिनादेखि नभएको उडान सुरुभएसँगै यात्रुलाई सहज भएको छ । दशैँ तिहार जस्ता चाडपर्व नजिकिएसँगै इलामदेखि काठमाडौँ उडान गर्नुपर्ने माग भएपछि उडान सुरु भएको छ ।
यहाँबाट बीचमा उडान नहुँदा यात्रुले झापाको भद्रपुर तथा अन्य विमानबाट यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ । गत जेठ १३ गतेदेखि हुन नसकेको उडान सुरु भएको हो । इलामबाट हप्ताको दुई दिन अर्थात आइतबार र बिहीबार उडान हुँदै आएको थियो ।
नेपाल एयरलाइन्सका दुईवटा साना विमानमध्ये एउटा मर्मतमा रहेकाले अब केही समय बिहीबार मात्र उडान हुने र अर्को विमान मर्मतबाट आएपछि साताका अन्य दिनसमेत उडान हुने जनाइएको छ ।