भिजनलाई आईओएफटीसीको सम्मान



काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पिन्सिप (आईओएफटीसी) ले १४ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिपका स्वर्ण विजेता नेपालका भिजन तामाङलाई १ लाख नगदसहित सम्मान गरेको छ । सोही अवसरमा युएस वल्र्ड क्लास होलीउड तेक्वान्दो एसोसिएसनका खेलाडी सेल्बा ताम्राकारले उपलब्ध गराएको २ सय अमेरिकी डलर पनि भिजनलाई प्रदान गरिएको थियो ।

आईओएफटीसीको आयोजनामा दक्षिण कोरियाको सिओलमा गत अगष्ट २३ देखि २४ तारिखसम्म भएको प्रतियोगितामा भिजनले पुरुष ४० केजीमुनि स्वर्ण जितेका थिए । उनले सेमिफाइनलमा अमेरिका तथा फाइनलमा फिलिपिन्सका खेलाडीलाई पराजित गरेका थिए । उक्त प्रतियोगितामा नेपालबाट सहभागी भिजन एक्लो खेलाडी हुन् । भिजन प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए ।

समग्रमा भिजनको यो दोश्रो अन्तर्राष्ट्रिय स्वर्ण हो । यसअघि भिजनले थाइल्यान्डमा भएको प्रतियोगितामा स्वर्ण जितेका थिए । विभिन्न घरेलु प्रतियोगितामा नेप्लिज तेक्वान्दो एकेडेमीका भिजनले २१ स्वर्ण जितेका छन् । भिजनको प्रतिभाको कदर गर्दै सम्मान गरिएको आईओएफटीसीका निर्देशक दिवाकर महर्जनले जनाएका छन् ।

सोही प्रतियोगितामा उत्कृष्ट निर्णायक बनेका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कालाई पनि नगद २५ हजारसहित सम्मान गरिएको थियो । अन्तर्राष्ट्रिय प्रतियोगितामा अशोक उत्कृष्ट निर्णायक भएको यो १४ औं पटक हो । उनले करिब ४० अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

आईओएफटीसीका लागि खेलाडी छनोट गर्न नेपालमै गत बैशाखमा भएको चौथो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा संयोजकको भूमिका निर्वाह गरेका वरिष्ठ तेक्वान्दो प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई पनि प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । सोही अवसरमा भारतमा भएको १० औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताको भेट्रानमा स्वर्ण जितेका राज मन्दिर श्रेष्ठ पनि प्रशंसा पत्रसहित सम्मानित भए ।

उनीहरुलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक कार्यक्रमबीच नगद र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सो अवसरमा आईओएफटीसी नेपाल च्याप्टरका अध्यक्ष मिनप्रसाद खनाल र सचिव गिरीबहादुर सुनारको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्