मध्यपहाडी लोक मार्गअन्तर्गत ‘डेउढी-भर्‍याङभुरुङ’ खण्ड अवरुद्ध



त्रिशूली । मध्यपहाडी लोक मार्गअन्तर्गत नुवाकोटको डेउडी-भर्‍याङभुरुङ खण्डमा गए रातिको अविरल वर्षाले क्षति पुर्‍याउँदा आवतजावत प्रभावित भएको छ ।

विदुर नगरपालिका–१३ सुन्दरेफाँट र हुलाक घर स्थित दहीचिउरे खोलामा आएको बाढीले नुवाकोटको सामरीबाट धादिङ हुँदै गोरखा जाने सडक अवरुद्ध भएको हो ।

बाढीले क्षति पुर्‍याउँदा करिब चार किलोमिटर सडकमा आवतजावत गर्न सक्ने अवस्था छैन भने सुन्दरेफाँट र हुलाकघरको सडक आसपासमा बसोबास गर्ने ५५ घरधुरी परिवारको आवासमा क्षति पुगेको विदुर–१३ का अध्यक्ष भरतबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार सडक निर्माणको जिम्मेवारी लिएको निर्माण व्यवसायी पछिल्लो एक वर्षदेखि कार्यक्षेत्रमा फर्किएको छैन । साथै राष्ट्रिय गौरवको आयोजनाको कार्यक्षेत्रभित्र पर्ने भएकाले अर्को निकायले काम गर्न नपाउँदा अवरुद्ध सडक सञ्चालनमा समस्या भएको छ । 

मध्यपहाडी लोक मार्गअन्तर्गत नुवाकोटको विदुर–१३ डेउडीबाट सामरी भञ्याङ हुँदै धादिङको कटुन्जेसम्म १३ दशमलव पाँच किलोमिटर सडक कालोपत्रसहित लुम्बिनी–मृतसञ्जिवन जेबीले विसं २०७५ असारमा जिम्मेवारी पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्