संसदीय समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन



काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम बहुमतले अनुमोदन गरिएको समिति सभापति ईश्वरी न्यौपानेले जानकारी दिए ।

बैठकमा रास्वपा सांसद डोलप्रसाद अर्यालले इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ र मलेशियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिनाका विषयमा र जसपा नेपालका सांसद प्रकाश अधिकारीले भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माका साथै पण्डित, श्रेष्ठ र तिम्सिनामाथि फरक दर्ज गराइएको सभापति न्यौपानेले जानकारी दिए ।

यस्तै बैठकले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र अन्य दुई देशका प्रस्तावित राजदूत उपर सार्वजनिक उजुरी आह्वान गरेको छ । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल उपर सार्वजनिक
उजुरी आह्वान गर्ने गर्ने निर्णय गरिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताए ।

शैक्षिक योग्यताको प्रमाणपत्रको विषयमा प्रश्न उठेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन नगरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्