प्रधानमन्त्री ओली अमेरिका प्रस्थान



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । उनी केहीबेरअघि अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन् ।

उनलाई उपप्रधानमन्त्री प्रकाशमानसिंहसहित मन्त्रिपरिषद् सदस्यले बिदाइ गरे ।

प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू छन् ।

विमानस्थलमा प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान गरेपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले दैनिक प्रशासनिक कामकाज गर्ने गरी सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

प्रधानमन्त्री ओलीले असोज १० गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्