सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै



तनहुँ । तनहुँका केही विद्यालयले विद्यार्थीलाई सीपमूलक सीप सिकाउन थालेका छन् । भानु नगरपालिकास्थित सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने प्रयोगात्मक सीप सिकाउन थालेका हुन् । 

पढाइसँगै जीवनपयोगी सीपलाई जोड्ने भानु नगरपालिका–८ स्थित मनोहर माध्यमिक विद्यालयले विद्यार्थीलाई टपरी बुन्ने सीप सिकाउन थालेको प्रधानाध्यापक हरिमा नेपालीले जानकारी दिए । पुरानो पुस्ताबाट नयाँ पुस्तामा सीप हस्तान्तरण गर्ने उद्देश्यसहित विद्यार्थीलाई दुना, टपरी बनाउने सीप प्रदान गरिएको नेपालीको भनाइ छ । 

पछिल्लो समय आल्मुनियम कागज प्लेटको प्रयोग बढेपछि दुना टपरीको चलन लोप हुँदै गएको छ । अहिलेका कतिपय युवापुस्तालाई सालको पातबाट बनाइने दुना टपरीको ज्ञान पनि नभएको नेपालीको भनाइ छ । 

त्यस्तै भानु नगरपालिका–६ सिम्पानीस्थित प्रभात आधारभूत विद्यालयले मकैको खोस्टाबाट विद्यार्थीलाई चकटी बनाउने सीप सिकाएको छ । विद्यालयले ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रममार्फत प्रत्येक हप्ताको शुक्रबार सीपमूलक तालिम सञ्चालन गर्न थालेको हो । 

विद्यार्थीलाई पढाइसँगै सीपमा अब्बल बनाउने उद्देश्यसहित मकैको खोस्टाबाट चकटी निर्माण गर्न सिकाइएको विद्यालयका प्रधानाध्यापक चिजकुमार सुर्खालीले जानकारी दिए । उनका अनुसार विद्यार्थीको रुचिअनुसार कम्प्युटर मर्मत, चित्रकला, हाजिरीजवाफ, विद्युतीय वायरिङलगायत सीप सिकाउन थालिएको छ । 

विद्यालयका शिक्षिका मानकुमारी खवास, प्रतिमा खड्गी, रेखबहादुर थापाले विद्यार्थीलाई मकैको खोस्टाबाट चकटी बनाउन सिकाएका थिए । विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालनले विद्यार्थीको सीप र क्षमता वृद्धिमा सहयोग पुग्ने भानु नगरपालिकाका शिक्षा शाखा प्रमुख ध्रुवराज पौडेलले जानकारी दिए । उनले भने, “बालबालिकामा जीवनपयोगी सीपको व्यावहारिक अभ्यास सुरु गरेर केही विद्यालयले अनुकरणीय प्रयास गरेका छन्, यसलाई निरन्तरता दिनुपर्छ ।”

  • असहाय बालबालिकालाई पढाउँदै व्यास

व्यास नगरपालिकाले दुई टुहुरा विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । व्यास नगरपालिका–१३ छाब्दी निवासी दुई टुहुरा बालबालिकालाई अध्ययन, खानबस्नको सम्पूर्ण व्यवस्थापन गर्ने गरी नगरपालिकाले अभिभावकत्व ग्रहण गरेको हो । बाबुआमा बितेपछि अरूको घरमा काम गर्न बसेका दुवै जनालाई आइतबार नगरप्रमुख वैकुण्ठ न्यौपाने, वडाध्यक्ष बसन्त आलेले अभिभावकत्व ग्रहण गर्दै नगरपालिकाले स्थापना गरेको व्यास नगर समता विद्यालयमा भर्ना गरिएको छ । 

कक्षा १ र ६ मा अध्ययनरत उनीहरू अब आवासीय विद्यालय नगर समता विद्यालयमा बसेर अध्ययन गर्नेछन् । विपन्न, असहाय, टुहुरा बालबालिकालाई अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले नगरपालिकाले व्यास नगरपालिका–७ मा नगर समता विद्यालय स्थापना गरेको छ ।

उक्त विद्यालयमा हाल ५३ जना बालबालिका अध्ययन गर्छन् । नगरपालिकाले यस विद्यालयलाई देशकै नमूना विद्यालयका रूपमा विकास गर्दै लैजाने लक्ष्य लिएको नगरप्रमुख न्यौपानेको भनाइ छ । उनले भने, “यहाँ अध्ययन गर्ने बालबालिकाको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले नै बहन गर्दै आइरहेको छ ।” न्यौपानेका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खान, बस्नको व्यवस्थापन समेत यही गरिएको छ ।

बन्द अवस्थामा रहेको क्यामिनकोट प्राथमिक विद्यालयलाई गत वर्षदेखि समता विद्यालयको रूपमा सञ्चालन गरिएको छ । विद्यालयमा अति विपन्न, अभिभावकविहीन, शिक्षाको पहुँचमा नरहेका बालबालिकालाई अध्ययनको व्यवस्था मिलाइएको वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो । विद्यालयमा हाल कक्षा ६ सम्म अध्यापन हुँदै आएको छ । निकट भविष्यमा कक्षा थप गरिने योजना बनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्