अपांगतासम्बन्धी संवैधानिक व्यवस्था कार्यान्वयन गर्न माग



काठमाडौँ ।  राष्ट्रिय बहिरा महासंघ नेपालले अपांगतासम्बन्धी संवैधानिक व्यवस्थालाई व्यावहारिक रुपमा कार्यान्वयनको माग गरेको छ । महासंघले आइतबार एक विज्ञप्ति जारी गरी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनको कार्यान्वयनको माग गरेको हो । 

‘शिक्षा ऐनलगायतका ऐन कानुनमा सुनिश्चित गरिएका बहिरा नागरिकका हक अधिकारमा बहिरा समुदायको अधिकार सुनिश्चित गर्न, नभएका कानुन निर्माण गरी बहिरा समुदायको मुल प्रवाहिकरण गर्न सहकार्यका लागि सरकारी, गैरसरकारी, सञ्चार जगत, निजी क्षेत्र एवं अन्तर्राष्ट्रिय समुदायसँग महासंघ आव्हान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । 

बहिरा नागरिकका हकअधिकार प्रदान गर्ने सन्दर्भमा विद्यमान कानुनी व्यवस्था र सामाजिक दृष्टिकोण अझै विभेदपूर्ण रहेको महासंघको भनाइ छ । बहिराहरूको पहिलो भाषा नेपाली सांकेतिक भाषामा हालसम्ममा झण्डै सात हजार संकेत विकास गरी शब्दकोश प्रकाशन तथा मोबाइल ‘एप्लिकेशन’ विकास गरिएको छ ।

‘सांकेतिक भाषा अधिकारका लागि संकेत गरौँ’ भन्ने मूल नारासहित आज सातौँ सांकेतिक भाषाहरुको अन्तर्राष्ट्रिय दिवस २०८१ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघको सन् २०१७ डिसेम्बर १९ को ७२औँ महासभाले हरेक वर्षको सेप्टेम्बर २३ तारिखलाई बहिरा नागरिकहरुको सञ्चारको माध्यम सांकेतिक भाषाको अधिकारलाई पहिचान गरी सांकेतिक भाषाहरुको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । 

संयुक्त राष्ट्रसंघले घोषणा गरेसँगै संसारभर सांकेतिक भाषाको अन्तर्राष्ट्रिय दिवस भव्यताका साथ मनाउने गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्