४९ अंकले बढ्यो नेप्से परिसूचक



काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुनः रौनक फर्किएको छ । आज एकै दिन नेप्से ४९.१८ अंकले बढ्दा बजारमा रौनक देखिएको हो ।

मंगलबार २४०० विन्दुमा पुगेको नेप्से आज बढेर २५१९.५७ विन्दुमा पुगेको छ । आज नेप्से १.९९ प्रतिशतले बढेको हो ।

आज ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता शेयर किनबेच भएको छ । प्रि–ओपन सेसनमा साढे २ अंकले बढेर सुरु भएको शेयर बजार खुलेको केही समयमा थोरै माथि गएको थियो ।

तर ११ः३२ मिनेटमा भने बजार न्यूनतम २४४३.२८ विन्दुमा पुगेको थियो । त्यसपछि उठेको बजार निरन्तरजसो माथि गएको थियो । बजार ११ः४५ पछाडि पनि ५ पटकसम्म बजार तल झर्न खोजेको थियो । तर, खरिदकर्ता हाबी भएका कारण बजार तल झर्न सकेन ।

आज बजार खुल्दा निराश भएका लगानीकर्ता बजार बन्द हुँदा भने निकै उत्साहित देखिए । २२३ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १८ वटा कम्पनीको शेयर मूल्य मात्र घट्यो । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आज ३२७ वटा कम्पनीको शेयर कारोबार हुँदा ६९ हजार ४१८ पटक शेयर किनबेच भयो । आज ५ वटा कम्पनीको शेयर मूल्यमा भने १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी फाइनान्स समूह ३.८० प्रतिशतले बढेर २ हजार ८२३.८३ विन्दुमा पुगेको छ । आज म्युचुअल फण्ड समूह ०.०१ प्रतिशतले घटेर २०.७८ विन्दुमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्