एपीएम टेबलटेनिसको मुख्य प्रायोजकमा सियोम



नेपाल एपीएम क्लबको आयोजनामा हुने चौथो एपीएम जुनियर टेबलटेनिस च्याम्पियन्सिपलाई सिओम नेपालले मुख्य प्रायोजन गर्ने भएको छ । सिओम नेपालका प्रबन्ध निर्देशक ज्याकी महर्जन र एपीएम क्लबका प्रबन्ध निर्देशक दानबहादुर महताले मुख्य प्रायोजन सम्बन्धी सम्झौता पत्रमा सोमबार हस्ताक्षर गरे ।

सिओमले आयोजकलाई ५ लाख रुपैयाँ मुल्य बराबरको खेल सामाग्री र पोशाक प्रदान गर्ने छ । त्यस्तै टाग्रो टेबलटेनिस कम्पनीले ४ लाख तथा ल्याम्प एन्ड लाइट कम्मनीले १ लाख रुपैयाँको खेल सामाग्री र पोशाक उपलब्ध गराउने आयोजकले जनाएको छ । प्राप्त सबै सामाग्री र पोशाक प्रतियोगितामा समावेश विभिन्न ९ स्पर्धाका पदक विजेतालाई पुरस्कार स्वरुप विरतण गरिने आयोजक एपीएमले जनाएको छ ।

प्रतियोगितामा यु–१०, यु–१२, यु–१६ र यु–१९ ब्वाइज/गल्र्स सिंगल्समा प्रतिस्पर्धा हुनेछ । अर्को स्पर्धामा यु–१९ मिक्स टिम इभेन्ट रहेको छ । मिक्स टिम इभेन्टको विजेतालाई २ लाख रुपैयाँ मुल्य बराबरको सियोम प्रो ९ टेबलटेनिस टेबल प्रदान गरिने छ । विगतका संस्करणमा आयोजकले पदक विजेतालाई नगद पुरस्कार दिने गरेकोमा यो संस्करणदेखि खेल सामाग्री र पोशाक प्रदान गर्न लागेको हो ।

प्रतियोगिता असोज १७ गतेदेखि तीनदिनसम्म भैसेपाटीस्थित आयोजक एपीएमको आफ्नै हलमा हुनेछ । करिब १ सय ५० खेलाडीको सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्