प्रधानमन्त्री ओलीले भने : ‘सरकारले गर्दै नगरेको होइन, सक्दो गरेको छ’



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यति ठूलो विपदको पूर्वतयारी नरहेको स्वीकार गरेका छन् ।

असोज ११ र १२ गते भारी वर्षासँगै आएको बाढी पहिरोले गरेको क्षतिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले ठूलो विपत्ति आइलागेको बताए ।

‘हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन’, उनले भने, ‘यस प्रकारको वर्षा होला, पहिरो जाला, मानवीय तथा भौतिक क्षति होला भन्ने अनुमान थिएन ।’

भारी वर्षा हुनसक्छ भन्ने जल तथा मौसम विज्ञान विभागको सूचनाका आधारमा अरु बेलाजस्तै पूर्व तयारी गरेको उनले बताए । उनले भने, ‘पहिला यस प्रकारभन्दा कमै हुने गर्थे, त्यसैअनुसार पूर्व तयारी थियो । ठूलै विपत्ति आइलाग्यो ।’

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका ओली सोमबार मात्र स्वदेश फर्किएका हुन् । आफू (देश) बाहिर भएपनि यहाँको अवस्थाबारे जानकार रहेको भन्दै ओलीले भने, ‘मलाई पनि यसप्रकारको होला भन्ने अनुमान थिएन ।’

विपद आइसकेपछि सरकारले राहत तथा उद्दारमा सक्दो काम गरेको प्रधानमन्त्री ओलीले बताए । ‘केही गर्दै नगरेको होइन, सक्दो गरेको छ । केही कमजोरी भएको हुनसक्छ’, सबैतिर समस्या भएकाले एकातिर प्राथमिकता दिँदा अर्कोतिर ढिला भएको हुनसक्ने भन्दै उनले भने, ‘जानीजानी लापरबाही त कसरी भयो होला र !’

४ हजार बढी मानिसको उद्दार गरेको भन्दै उनले सुरक्षाकर्मीहरुलाई धन्यवाद दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्