सुदूरपश्चिमको ब्रान्ड एम्बासडरमा विष्ट



नेपाल सुपर लिग (एनपिएल) टोली सुदूरपश्चिमाञ्चल रोयल्सले ओलम्पियन दीपक विष्टलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । विष्ट र सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सुदूरपश्चिम मात्र नभइ देशका शान तेक्वान्दोका सफल खेलाडी विष्टलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गर्न पाउनु खुसीको बिषय भएको सुदूरपश्चिम रोयल्सका मालिक शाहले बताउनुभएको छ । उनले भन्नुभयो ,‘उहाँ खेलकुदको रोलमोडल हो । आफ्नो समयमा खेलेर योगदान गर्नुभयो । अहिले नयाँ पुस्ताका खेलाडीलाई हौसला बढाउँदै आउनुभएको छ । उहाँ हामीसँग जोडिनु सुदूरपश्चिम रोयल्सका लागि गर्वको विषय हो ।’

दक्षिण एसियाली खेलकुद (साग) का ४ पटकका स्वर्ण पदक विजेता विष्टले एसियाली खेलकुदमा दुई पटक कास्य पदक जित्नुभएको थियो । छनोट चरण पार गरेर उहाँले बेइजिङ ओलम्पिक २००८ खेल्नुभएको थियो ।

विष्टले सुदूरपश्चिम रोयल्सलाई धन्यवाद दिँदै सुदूरपश्चिम क्रिकेटका लागि उर्वर भूमि भएको र एनपिएलको आयोजनाले व्यवसायिक क्रिकेटलाई उचाईमा पुर्याउने सम्भावना रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘यो उद्देश्यमा साथ दिन सुदूरपश्चिम रोयल्समा जोडिन पाउँदा खुसी लागेको छ । एनपिएलको आयोजनाले अन्ततः नेपाली क्रिकेट कै विकास हुने आशा छ ।’ सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी र मुख्य प्रशिक्षक जगत टमटा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्