एनआरएनए मलेसियाले एन्फाका पहिरो पिडित खेलाडी परिवारलाई सहयोग गर्ने



काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मलेसियाले हालै आएको पहिरोमा परेर निधन भएका एन्फा यु–१३ का खेलाडीका परिवारलाई सहयोग गर्ने भएको छ ।

एनसीसी मलेसियाले युवा खेलाडीका परिवारलाई जनही १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको कोषाध्यक्ष बालध्वज लिम्बूले जानकारी दिए ।

एन्फाका पदाधिकारीसंगको समन्वयमा मृतक खेलाडीका परिवारलाई सहयोग रकम हस्तान्तरण गर्नका लागि आफूहरु चाँडै नेपाल आउने बताए । सिस्नेरी पहिरोमा परेर एन्फा एकेडेमीका ६ जना खेलाडीको निधन भएको थियो ।

शनिबार इन्द्रसरोवर गाउँपालिका– ३ टेकरमा सिस्नेरी खोलामा आएको बाढी र पहिरोमा वत्सला माविमा सञ्चालन भइरहेको एकेडेमीमा अध्ययनरत ६ युवा खेलाडीको निधन भएको थियो । घटनामा मकवानपुरका अनुप घलान, दिवस बानियाँ र साइमन योञ्जनको निधन भएको थियो । यसैगरी काठमाडौंका रियान्स आचार्य, सर्लाहीका आदित्य बलपाकी र बाराका बिकल रेग्मीको निधन भएको थियो ।

एनसीसी मलेसियाले देशमा विपद् पर्दा आफूहरु कर्मभूमी भन्दा बाहिर भए पनि सहयोग गर्नु कर्तब्य रहेको भन्दै युवा खेलाडीहरुको निधनले अत्यन्त दुखित् भएकाले सहयोग गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्