खुर्कोट पुगेर गृहमन्त्रीले भने : ‘एक हप्ताभित्र डाइभर्सजनसहित सवारी चलाउने व्यवस्था हुन्छ’



काठमाडौं । गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्जनसहित विपद्का कारण अवरुद्ध बीपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुने बताएका छन् ।

बाढी, पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा आज बिहान सिन्धुलीको खुर्कोट प्रभावित क्षेत्रको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले अतिभारी वर्षाका कारण आएको विपदबाट सबैभन्दा बढी क्षति भएको बीपी राजमार्ग अस्थायी रुपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना लागि रहेको बताए ।

‘बीपी राजमार्गमा धेरै क्षति भएको छ, एक हप्ताभित्र डाइभर्सजनसहित सवारी चलाउने व्यवस्था हुन्छ ।’ उनले भने, ‘यहाँका अवरुद्ध भित्री सडक सञ्चालनदेखि पुल निर्माणसम्म सेनाको धेरै ठुलो भूमिका देखिएको छ ।’

विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागि परेको बताउँदै गृहमन्त्री लेखकले जतिसक्दो चाँडो यो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

‘यो समस्यामा कहाँ जाउँला ? के गरुँला? यो नसोच्नुहोला ।’ उनले भने ‘सरकार छ, सरकार भनेको सबैको अभिभावक पनि हो ।’ विपद्को समस्या सबै मिलेर समाधानमा जुट्नुपर्नेमा जोड उनको थियो ।

प्रतिक्रिया दिनुहोस्