काठमाडौं । सहकारी ठगीमा मुछिएका सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्तालाई प्रहरीले धरपकड गरेको छ ।
मध्यान्ह १२ बजेका लागि तय भएको प्रदर्शनमा सहभागी हुन बालुवाटार पुगेका रास्वपा एकजना सांसदसहित १७ जना नेता(कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै ती नेता कार्यकर्तालाई प्रहरीले प्रदर्शनअघि नै समातेको हो । बालुवाटारस्थित नेपाल हाउस रेस्टुरेन्टअगाडिबाट सांसद अशोककुमार चौधरीसहित कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तर शान्तिपूर्ण रूपमा छलफल गर्दै गर्दा सांसद चौधरीसहित काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्कासहित समातिएको रास्वपाले जनाएको छ ।