एमाले– कांग्रेसले बनाए तीन तहमै समन्वय संयन्त्र



काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्यलाई सहज बनाउने गरी संघ, प्रदेश र जिल्ला तहमा संयन्त्र बनाएका छन् ।

संघको संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य रमेश लेखक र आरजु राणा छन् भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल सदस्य छन् ।

‘सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन र सत्ता साझेदारबीच आवश्यक समन्वय गर्नेगरी संयन्त्र बनाइएको हो’, एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘केही समय अघि बनेको संयन्त्रलाई औपचारिकता दिएर अगाडि बढेका छौं ।’

उनका अनुसार प्रदेश र जिल्ला तहमा पनि समन्वय संयन्त्र बनाउने निर्णय भएको छ । उक्त निर्णय अनुसार एमालेबाट संयन्त्रमा रहने नेताहरु समेत टुंगिएको छ ।

प्रतिक्रिया दिनुहोस्