दीपक मनाङे काठमाडौंबाट पक्राउ



काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् ।

प्रहरीले उनलाई आज काठमाडौंको सानोभर्‍याङबाट पक्राउ गरेको हो । कात्तिक २० गते सर्वोच्च अदालतले उच्च अदालत पाटनले गरेको पाँच वर्ष कैद सजायको फैसलालाई सदर गरेपछि मनाङे पक्राउ परेका हुन् । सर्वोच्चले उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार निजलाई आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइनेछ ।

२०६१ सालमा मनाङे समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरेको थियो । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।

उक्त फैसलापछि मनाङे २०७५ साल पुसमा थुनामा गएपछि पुनरावेदन सर्वोच्चमा पुनरावेदन गरेका थिए । सर्वोच्चले २०७५ साल पुस ६ गते धरौटी राखेर थुनामुक्त गर्न आदेश दिएपछि मनाङे जेल बाहिर रहेर मुद्दा लड्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्