मतपेटिका चुनावकै दिन ढुवानी व्यवस्था मिलाउन सरकारलाई निर्वाचन आयोगको आग्रह



काठमाडौं । निर्वाचन आयोगले १६ मंसिरमा स्थानीय तह उपनिर्वाचनमा मतदान सकिएपछि त्यसै दिन मतपेटिका ढुवानी व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

सोमबार निर्वाचन आयुक्त सगुनशमशेर जबरा संयोजकत्वमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदान भएकै दिन मतपेटिकाहरू सुरक्षित रुपमा मतगणनास्थलसम्म ढुवानी र सुरक्षा गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयमार्फत् जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ ।

समितिले १३ मंसिरको राति १२ बजेदेखि प्रचार प्रसार निषेध अवधिमा पालना गर्नुपर्ने आचारसंहिताको पूर्ण पालना गर्न गराउन प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिने निर्णय पनि गरेको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्