विदेशी मुद्राको सञ्चिति २२ खर्ब नाघ्यो



काठमाडौं । नेपालमा विदेशी मुद्राको सञ्चिति सवा २२ अर्व रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासि अवधिको तथ्यांकअनुसार नेपालमा विदेशी मुद्राको सञ्चिति २२ खर्व ३२ अर्व २८ करोड पुगेको हो । २०८१ असार मसान्तमा २०४१ अर्व १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति असोज मसान्तसम्म ९.४ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८४८ अर्ब ५५ करोड रहेकोमा २०८१ असोज मसान्तमा ७.५ प्रतिशतले वृद्धि भई १९८८ अर्ब पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १९२ अर्ब ५५ करोड रहेकोमा २०८१ असोज मसान्तमा २६.९ प्रतिशतले वृद्धि भई २४४ अर्ब २७ करोड कायम भएको छ ।

त्यस्तै, २०८१ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८१ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३९.१ प्रतिशत, १२१.९ प्रतिशत र ३०.९ प्रतिशत रहेका छन्। २०८१ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्