सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व : मन्त्री यादव



झापा । खानेपानी मन्त्री प्रदीप यादवले सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व रहेको बताएका छन् । झापाका विभिन्न स्थानमा निर्माणाधीन खानेपानी परियोजनाको आज स्थलगत अनुगमन गर्दै उनले निर्माण प्रगतिसँगै आइपर्ने चुनौतीहरूको विस्तृत जानकारी लिएका हुन् ।

मन्त्री यादवले मेचीनगर र धुलाबारीमा निर्माणाधीन खानेपानी ओभरहेड ट्याङ्कीहरूको निरीक्षण गर्दै सम्बन्धित निकायलाई निर्माण समयमा सम्पन्न गर्न निर्देशन दिए । उनले उपभोक्तालाई शुद्ध र स्वच्छ पानी उपलब्ध गराउनका लागि निर्माणमा तीव्रता ल्याउनुपर्नेमा जोड दिए ।

सुरुङ्गास्थित सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मोरङको सनिचरीस्थित पथरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पदाधिकारीसँग छलफल गर्दै मन्त्री यादवले स्थानीय स्तरमा भइरहेको प्रगति, सञ्चालनमा रहेका योजना र चुनौतीहरूको समाधानका लागि सरकारको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “सबै नागरिकको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व हो । यसका लागि सरकार आवश्यक नीति र कार्यक्रममार्फत सुविधायुक्त र दिगो सेवा उपलब्ध गराउन प्रयासरत छ ।”

मन्त्री यादवले झापाको मेचीनगरमा चारआलीस्थित साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र काँकरभीट्टास्थित काँकरभीट्टा खानेपानी उपभोक्ता संस्थाको पनि स्थलगत अवलोकन गरे । उनले स्थानीय तहमा भएका सकारात्मक कार्यको प्रशंसा गर्दै खानेपानी आपूर्ति सुधारका क्रममा देखिएका चुनौती समाधान गर्न सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

मन्त्री यादवले जिल्लमा निर्माण भइरहेको दिसाजन्य लेदो व्यवस्थापन परियोजना र सरसफाई व्यवस्थापन परियोजनाको पनिअवलोकन गर्दै परियाजनाहरुले झापा र आसपासका क्षेत्रका नागरिकलाई स्वच्छ र स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

उनले देशभर देखिएका खानेपानी सम्बन्धी समस्या समाधान गर्न सरकार सक्रिय रहेको भन्दै व्यक्तिगत रूपमा स्थलगत अनुगमन तथा अवलोकनमार्फत परियोजनाको प्रगतिबारे जानकारीसहित सुधारका लागि आफू कटिबद्ध रहेको बताए । मन्त्री यादवले दीर्घकालीन योजना कार्यान्वयन गर्दै स्थायी, भरपर्दो र सहज खानेपानी आपूर्ति सुनिश्चित गर्न सबै तहका साझेदारहरूसँगको सहकार्यलाई सुदृढ गर्ने धारणा राखे ।

उनले भने, नेपाल सरकार नागरिकको जीवनस्तर उकास्न खानेपाी र सरसफाई सेवा सुधार्न दृढ छ । स्रोतसाधन परिचालन गरी समयमा निर्माणाधीन परियोजना सम्पन्न गर्न हामी प्रतिबद्ध छौं ।

झापाका उपभोक्ता संस्थाहरूका पदाधिकारीले मन्त्री यादवको सक्रियतालाई सकारात्मक कदमका रूपमा व्याख्या गर्दै जिल्लामा निर्माणाधीन खानेपानी परियोजनालाई समयमा सम्पन्न गर्न ऊर्जा थपेको प्रतिक्रिया दिएका थिए । मन्त्री यादवको भ्रमण पश्चात् स्थानीय नागरिकले स्थायी र गुणस्तरीय खानेपानी सेवा प्राप्त हुने आशा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्