स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’



कैलाली । धनगढीमा आयोजित ‘शनिबारीय’ मेलामा थारु खानाका परिकार ग्राहकको रोजाइमा परेपछि सुनितादेवी चौधरी खुसी थिइन् । महिलालाई लक्षित गरी सुरु गरिएको ‘शनिबारीय’ मेलामा थारु समुदायका ढिक्री, मच्छिक शिकार, अन्डिक भातलगायत परिकार ग्राहकको रोजाइमा परेपछि आम्दानी हुने नै भयो । 

धनगढी उपमहानगरपालिका–१५ सुर्मी गाउँकी चौधरीले मौलिक परिकार बेचेर एकैदिन रु पाँच हजार आम्दानी भएपछि मख्ख देखिइन् । “घरायसी कामबाहेक अन्य काम नजानेका कतिपय ग्रामीण महिलालाई मेलाले आम्दानी गर्ने बाटो देखाएको छ । हाम्रा परिकार ग्राहकको रोजाइमा पर्न थालेपछि मैले पनि यसैलाई उद्यमको रूपमा विकास गरिरहेकी छु”, उनले भनिन्, “शनिबार एकैदिन मध्याह्नदेखि बेलुका ५ बजेसम्म रु पाँच हजारको परिकार बिक्री हुने गरेको छ ।” 

महिला मात्र सहभागी हुन पाउने गरी आयोजना हुने मेलामा अन्य समुदायका खाना परिकार र विभिन्न सामग्री पनि बिक्रीका लागि राख्ने गरिन्छ । मेलामा सहभागी हुने यहाँका ग्रामीण महिलाले ग्राहकसँग कारोबार गर्न सिकेको र यसले दीर्घकालीन रूपमा फाइदा पुग्ने कतिपयको भनाइ छ । 

यहाँ धेरैको रोजाइमा रैथाने परिकारहरू पर्ने गरेका छन् । तातोपानीको बाफको सहायतामा पकाइने चामलको पिठोको ढिक्री थारु समुदायमा खानाको स्वादिष्ट परिकार मानिन्छ । रैथाने जातको अन्दी धानको चामलबाट पकाइएको ‘अन्डिक भात’ पनि धेरैको रोजाइमा पर्छ । 

अर्की महिला उद्यमी मधु चौधरीले मेलाले आफूहरूका लागि स्वरोजगार अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, “घरमा काम नभएर त्यसै बस्नुभन्दा मेलामा पुगेर खानाका परिकार बेचेर कमाइ गर्न पाएका छौँ । यसले सीप निखार्दै आम्दानी गर्ने अवसर सिर्जना गरिरहेको छ ।”

स्थानीय सूर्यप्रकाश जोशी महिलालाई मात्र लक्षित गरी सुरु भएको मेला एक मौलिक सुरुआत भएको बताए । उनले भने, “महिलालाई लक्षित गरेर गरिएको यो मेला एक नयाँ सुरुआत पनि हो । यसले उनीहरूलाई उद्यमशील र स्वरोजगार बन्न टेवा पुर्याएको छ । मेलाको दिगो व्यवस्थापनमा ध्यान दिन जरूरी छ ।”

धनगढी उपमहानगरपालिकाको पहलमा यो मेला सुरु भएको हो । गत शनिबार यसको दोस्रो शृङ्खला सम्पन्न भएको छ । महिलाद्वारा उत्पादित सामग्री तथा वस्तु बिक्री वितरणमा टेवा पुर्याउन स्थानीय महिलाका लागि ‘शनिबारीय’ मेला सुरु गरिएको र यसको दिगो व्यवस्थापन गरिने नगरप्रमुख गोपाल हमालको प्रतिबद्धता छ । “महिलाले सीपमूलक तालिम लिएर पनि त्यसको व्यवहारिक उपयोग नभइरहेको अवस्थामा उनीहरूको सीपको प्रयोग गरी उद्यमशीलता प्रवर्द्धनमा गर्ने उद्देश्यले मेला आयोजना गर्न थालिएको छ । यसले महिलाको सीपको व्यवहारिक प्रयोग गर्न टेवा पुग्ने विश्वास छ”, उनले भने, “आगामी दिनमा धनगढीमा बसेर अध्ययन गर्दै गरेका युवालाई लक्षित गरेर रात्रिकालीन बजारसमेत सञ्चालन गर्ने योजना छ ।”

मेलामा व्यवस्था गरिएका ६० भन्दा बढी विभिन्न स्टलमा महिलाद्वारा उत्पादित विभिन्न सामग्री र स्थानीय खानाका परिकार बिक्रीका लागि राख्ने गरिएको छ । यहाँ मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरिएको छ, जसले ग्राहकलाई स्थानीय परिकारको स्वादसँगै मनोरञ्जन लिने गर्छन् । उद्यमी आम्दानी हुने भएपछि त्यसै मख्ख । 

सांस्कृतिक कार्यक्रमका संयोजक गुणाकर पनेरुले मेला स्थानीय महिलाको सीपको सदुपयोग गर्नाका साथै स्थानीय संस्कृति संरक्षणमा टेवा पुर्याउने बताए । “भर्खरै मेला सुरु भएको छ । यसलाई व्यवस्थित गर्दै यहाँको मौलिक कार्यक्रमका रूपमा विकास गर्दै लैजानुपर्छ”, उनले भने । 

प्रतिक्रिया दिनुहोस्