काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि आइतबार सेयर बजार ९.९९ अंक घटेको छ । यो गिरावटसँगै बजारको परिसूचक नेप्से २७३८ मा कायम भएको छ । मौद्रिक नीतिको समीक्षामार्फत कुनै पनि नीतिगत व्यवस्था गरिएको थिएन ।
कारोबार रकम केही बढेको छ । कुल ८ अर्ब ८३ करोडको कारोबार भएको छ । गत बिहीबार ८ अर्ब ५४ करोडको भएको थियो । ६३ कम्पनीको मूल्य बढ्दा १७८ को घटेको छ भने ३ को स्थिर रह्यो ।
विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । सो समूह ४.५ प्रतिशत बढ्यो । त्यस्तै व्यापार समूह ९ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको मूल्य १० प्रतिशत बढेकै कारण व्यापार समूहमा उच्च वृद्धि देखिएको हो ।
बैंकिङ १.४७, फाइनान्स २.९६, हाइड्रोपावर १.१४, लगानी १.१५, जीवन बीमा १.३५, उत्पादन ०.५७, माइक्रोफाइनान्स ०.९२, निर्जीवन बीमा ०.०१ र अन्य समूह १.३५ प्रतिशत घटे । होटल तथा पर्यटन समूह ०.३० प्रतिशत बढ्यो ।
विशाल बजार कम्पनीका अलवा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो । एक्सल डेभलपमेन्ट बैंकको ९.६, सपोर्ट माइक्रोफाइनान्सको ९.४, मितेरी विकास बैंकको ७.६ र इमर्जिङ नेपालको ७.५ प्रतिशत मूल्य बढ्यो ।