महिलाविरुद्धको जुनसुकै प्रकृतिका हिंसा सह्य हुँदैन : गृहमन्त्री लेखक



काठमाडौँ । गृहमन्त्री रमेश लेखकले महिलामाथि हुने जुनसुकै प्रकृतिका हिंसा सह्य नहुने बताएका छन् । आज सिंहदरबारस्थित गृह मन्त्रालयमा ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिन अभियानका सन्दर्भमा २६ वटा नागरिक संस्थाले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै उनले सरकार महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न प्रतिबद्ध रहेको बताए ।

वैदेशिक रोजगारीमा महिला सुरक्षाको विषयमा पनि आफू गम्भीर रहेको उल्लेख गर्दै उनले आप्रवासी महिला कामदारलाई शोषण र दुर्व्यवहारबाट जोगाउन सरकारका संयन्त्रहरु क्रियाशील रहेको जानकारी दिए ।

“पछिल्लो समय सामाजिक सञ्जाल, डिजिटल मिडियामार्फत पनि महिला प्रताडित छन्”, गृहमन्त्री लेखकले भने, “लोकतन्त्रमा आलोचना, विरोध र धारणा राख्न पाइन्छ तर सभ्य र सुसंस्कृत ढङ्गबाट गर्नुपर्छ ।” उनले डिजिटल मिडियामा आइरहेको घृणात्मक अभिव्यक्ति र हिंसा, दुर्व्यवहार नियन्त्रणका लागि पहल भइरहेको बताए ।

संविधानको भावना अनरुप समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गर्न बन्दै गरेको एकीकृत निर्वाचन विधेयक सङ्घीय संसद्को आगामी अधिवेशनमा पेस हुने गरी गृह मन्त्रालय अघि बढेको मन्त्री लेखकको भनाइ थियो ।

जातीय आधारमा हुने विभेद, अपमान र सबैखाले हिंसा अन्त्यलगायतका १६ बुँदे ध्यानाकर्षण पत्र बुझाउन कोपिला नेपाल, विश्वास नेपाल, जागृती महिला महासङ्घ लगायतका २६ वटा संस्थाका प्रतिनिधि आएका थिए । 

प्रतिक्रिया दिनुहोस्