पाटन दरबार सङ्ग्रहालयमा थप नयाँ प्रदर्शनी कक्ष



ललितपुर । ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदर्शनी कक्ष थप हुने भएको छ । विश्वसम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित सङ्ग्रहालयमा ऐतिहासिक कलाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी कक्ष थप गर्न लागेको हो ।

हाल तीन वटा ऐतिहासिक भवनमा प्रदर्शनी कक्ष रहेका भन्दै ती भवनमा परम्परागत कला झल्कने नयाँ प्रदर्शनी कक्ष थप्न लागिएको दरबार सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस अघि ९आगामी जेठ० भित्र उद्घाटन गर्नेगरी प्रदर्शनी कक्ष विस्तारको काम अघि बढेको छ ।

नयाँ थपिएको प्रदर्शनी कक्षमा कलात्मक मूर्ति निर्माण गर्ने चरण प्रक्रियालाई प्रदर्शनीमा राखिने लाखेले जानकारी दिए । ढुङ्गा, काठ र धातुबाट मूर्ति बनाउन सकिने भन्दै उनले मूर्ति निर्माणको चरणबद्ध प्रक्रिया प्रदर्शनमा राखिने उल्लेख गरे ।

नयाँ थपिएको कक्षमा राख्न ललितपुरका लोक चित्रकारले पौवा, भक्तपुरका इन्द्रकाजी शिल्पकारले काष्ठकला र ललितपुर भैँसेपाटीका चन्द्रस्याम डुङ्गोलले ढुङ्गाको मूर्ति निर्माण गरी उपहारस्वरूप सङ्ग्रहालयलाई हस्तान्तरण गर्ने जनाइसक्नुभएको उनले बताए ।

सङ्ग्रहालयका प्रमुख लाखेका अनुसार नयाँ थपिने कक्षमा उपहारस्वरूप कला हस्तान्तरण गर्ने सबैलाई उद्घाटन समारोहमा सम्मान गरिनेछ । सङ्ग्रहालयमा कलात्मक मूर्तिसहित अन्य ऐतिहासिक सामग्री राखिएका भन्दै सिङ्गो ढुङ्गा र काठबाट कसरी मूर्तिकोस्वरूप दिइन्छ भन्ने प्रक्रिया प्रदर्शनीमा नरहेकाले थप कक्ष विस्तार गर्न लागिएको उनले जानकारी दिए ।

नयाँ कक्षमा थपिने कलात्मक प्रदर्शनीले परम्परागत कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई परम्परागत सीपको अध्ययन गर्ने अवसर प्रदान गर्ने प्रमुख लाखेले बताए । “पर्यटकलाई सङ्ग्रहालयमा सधैँ एकैप्रकारका ऐतिहासिक सामग्री देखेर दिक्क लाग्नु स्वाभाविक हो”, उनले भने, त्यसैले हामीले नयाँ कलात्मक सामाग्री थपेमा सङ्ग्रहालयको आकर्षण बढाउने र पर्यटन प्रवर्द्धन गर्ने योजना बनाएका हौँ ।”

प्रतिक्रिया दिनुहोस्