१६ दिने अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका-१० बालुवाखानिस्थित रुओन नेपालको कार्यालयमा अन्तर्राष्ट्रिय रुपमा १६ दिनसम्म मनाइने लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियानको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रुओन नेपाल, अक्सफोर्ड एडभान्स इन्जिनियरिङ कलेज, परिवर्तन खबरको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा रुओन नेपालकी अध्यक्ष गोमादेवी बास्तोलाले १६ दिने अभियानको बारेमा प्रष्ट पार्दै लैङ्गिकताका आधारमा हुने सबैखाले हिँसाको अन्त्य भई हिंसारहित समाज निर्माणमा एक्यवद्धता हुनुपर्नेमा जोड दिइन् । समाजमा हुने महिला तथा लैङ्गिक हिँसाको अन्त्य १६ दिन भित्र मात्र निर्मूल नहुने भएकोले वर्षभरि यस्ता कार्यक्रमहरु आयोजना हुनुपर्ने पनि बताइन् ।

सो कार्यक्रममा बालउद्धार विव्यसका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले महिला तथा लैङ्गिक हिँसा विरुद्धको अभियानमा व्यक्ति मात्र नभई राज्यका विभिन्न निकायको पनि प्रमुख दायित्व रहेको बताएका छन् । ‘यस अभियान अन्तर्गत राज्यले आवश्यक निती, कानुन, कार्यक्रम तथा बजेट परिमार्जनमा जोड दिनुपर्छ,’ उनले भने ।

त्यस्तै गरी युवा नेता लक्ष्मण घिमिरेले महिलाहरुले आफूले पाएको अधिकार तथा अवसरको सहि सदुपयोग गरेर नेतृत्वमा पुग्नुपर्ने बताएका थिए ।

लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने यो दिवस मंसिर १० देखि सुरु भएर मंसिर २५ अर्थात् नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्