झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका–३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन गरेका छन्।
दुई दिवसीय भ्रमणका क्रममा आइतबार गृहजिल्ला आएका प्रधानमन्त्री ओलीले सोमबार खानेपानी आयोजनाको उद्घाटन गर्दै सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै सम्पूर्ण देशवासीलाई गुणस्तरीय पानीको व्यवस्था गर्न आफ्नो नेतृत्वको सरकार क्रियाशील रहेको उनले बताए।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मुलुकका प्रमुख दुई ठूला दल मिलेर सरकार बनेपछि राजनीतिक स्थिरता र विकास निर्माण सुनिश्चित भएको प्रसङ्ग उल्लेख गर्दै विकास निर्माणका क्रममा लामो समयदेखि झेल्नुपरेका अवरोध र बाधा-व्यवधान अन्त्य गरी अधुरा योजना तथा कार्यक्रम सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढेको स्पष्ट गरे ।
उनले देशव्यापी रूपमा बिजुली, कृषि, सञ्चार, उद्योग, सरसफाइलगायतका अभियान सञ्चालन गरी मुलुक र जनताका पक्षमा सकारात्मक परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।