म्याग्दी । कालीगण्डकी नदीको तीरदेखि धौलागिरिको शिरसम्मको भूगोलमा फैलिएको म्याग्दी पर्यटन विकासका अथाह सम्भावनाले भरिपूर्ण छ । हिमाल, पहाड र वेशीको विविधतायुक्त विशाल भूगोलमा रहेका अनगिन्ती सुन्दर दृष्यहरु म्याग्दीका चिनारी हुन् । जिल्लाका चर्चित पर्यटकीय गन्तव्यहरुमध्ये उदाउँदो पर्यटकीय गन्तव्य हो, टोड्के–धौलागिरी पदमार्ग ।
रघुगङ्गा र मङ्गला गाउँपालिका तथा बेनी नगरपालिकाको सीमा क्षेत्र समेटिएको टोड्के हिमशृङ्खला र मनोरम प्राकृतिक दृष्य अवलोकनका लागि चर्चित गन्तव्यको रुपमा परिचित छ । अग्लो डाँडामा रहेको टोड्केबाट धौलागिरि र अन्नपूर्ण रेञ्जका दर्जनौँ हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । टोड्केलाई केन्द्रविन्दु बनाएर पहिचान गरिएको सातदेखि १० दिनसम्मको पदयात्रा ‘टोड्के–धौलागिरि पानोरमा सांस्कृतिक पदमार्ग’ म्याग्दीमा नयाँ पर्यटकीय गन्तव्यको रुपमा चिनिन थालेको छ ।
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र रघुगङ्गा गाउँपालिकासँगको सहकार्य तथा नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीले गत वर्ष अध्ययन अनुसन्धान गरेको यस पदमार्गमा धार्मिक, ऐतिहासिक र नयाँ पर्यटकीय गन्तव्य तथा मगर, छन्त्याल लगायतका जातजातिका परम्परागत गाउँ बस्तीहरुलाई समेटिएको छ ।
पछिल्लो समय सडक सञ्जालको पहुँचले परम्परागत पदमार्गहरु मासिएको र पदयात्रा गराउने नयाँ पर्यटकीय गन्तव्यको खोजी भइरहेको सन्दर्भमा यो पदमार्ग लामो र छोटो दुवै विकल्पका लागि उपयुक्त रहेको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।
“पहिलेका अधिकांश पर्यटकीय गन्तव्यमा सडक सञ्जालले जोडिन थालेका छन्, क्याम्पिङ टुरिजम हराएर जाने अवस्थातिर धकेलिएको छ, यस्तो अवस्थामा नयाँ नयाँ पर्यटकीय गन्तव्यको खोजी र अनुसन्धान गरिनुपर्छ, टोड्केदेखि धौलागिरि आधार शिविर हुँदै लेते निस्कने यो पदमार्ग म्याग्दीका लागि सम्भावनायुक्त छ’’, उनले भने ।
पछिल्लो समय चर्चित बनेको पर्यटकीयस्थल टोड्केबाट धौलागिरि आधार शिविर जोड्ने नयाँ पदमार्गको पहिचान गरिएको छ । टोड्केदेखि मालिकाधुरी, ठाडाखानी, कुइनेखानी, चौरखानी, घ्यासीखर्क हुँदै धौलागिरि हिमालको दक्षिणी आधार शिविर भएर कालीबराह ताल, सोबाङ धुरी हुँदै मुस्ताङको लेते जोड्ने गरी टोड्के–धौलागिरि पानोरमा सांस्कृतिक पदमार्गको पहिचान गरिएको हो ।
डाँडाकाँडाको यात्रा र हिमालको दृष्य नियाल्न मात्रै होइन नेपाली परम्परागत ग्रामीण जीवनशैलीको अध्ययन र अवलोकनका लागि पनि टोड्के–धौलागिरि पानोरमा पदमार्ग उत्कृष्ट मानिएको छ । मगर, छन्त्याल, दलितलगायतका जातजातिको बसोबास रहेको यस पदमार्गमा पर्ने गाउँबस्तीको मौलिक भू–वनोट र चिटिक्क मिलेका ढुङ्गेघरका लस्कर पर्यटकलाई लोभ्याउने प्राचीन कलाकृति मानिन्छन् । हिमालको आँगनमा मिलेका गाउँबस्ती परम्परागत जीवनशैलिको अध्ययन गर्ने थलोको रुपमा छन् ।
मनोरम टोड्के
समुद्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा अवस्थित टोड्के सूर्योदय, हिमाल र ग्रामीण भूगोलको अवलोकनका लागि उत्तम मानिन्छ । मिर्मिरको उज्यालोसँगै चम्किला किरण छर्दै आउने सूर्योदयको दृष्यले यहाँ पुग्ने जो कसैको मन लोभ्याउने गर्छ । आँखै अगाडिका हिमालमा सूर्योदयका किरणले भर्ने चमकले फुरुङ्ग हुने पर्यटक अग्लो डाँडाबाट फन्को मारेर विविधतायुक्त ग्रामीण गाउँबस्तीको भूगोललाई नियाल्दा उत्साहित हुने गर्छन् ।
गुराँसे जङ्गलले घेरिएको टोड्के छोटो दुरीमा पुग्न सकिने प्रख्यात पर्यटकीय गन्तव्यको रुपमा चिनिन थालेको छ । थरिथरिका गुराँस फुल्ने यो क्षेत्रमा हिउँदयाममा हिउँमा खेलेर रमाउन पर्यटक उक्लिने गर्छन् । टोड्केमा उत्पादन हुने मुला, आलु र सिमीको स्वाद पर्यटकको रोजाइमा पर्छ ।
पर्यटकीय सम्भावनाले मात्रै धार्मिक दृष्टिकोणमा यो ठाउँ उत्तिकै महत्वपूर्ण मानिन्छ । यहाँ स्वर्गद्धारी शाखा आश्रम निर्माण गरिएको छ । प्यूठानमा अवस्थित स्वर्गद्वारी महाप्रभु आएर तपस्या गरेको कारण यस शाखा आश्रममा साधु सन्त र तस्बिरले ध्यान र पुजापाठ गर्दै आएका छन् ।
मङ्गला गाउँपालिको पूर्णगाउँ र कुहुँ, रघुगंगा गाउँपालिको झिँ र बेनी नगरपालिकाको वाखेतबाट सहजै पुग्न सकिने टोड्केमा पर्यटकहरुको खाना र बसोबास सुविधाका लागि निजी क्षेत्रबाट टोड्के हिल रिसोर्ट सञ्चालनमा आएको छ । रिसोर्ट सञ्चालनमा आएपछि यस क्षेत्रमा आन्तरिक पर्यटकहरुको आगमन बढेको रिसोर्टका सञ्चालक भिम शेरचनले बताए ।
“पहिले यहाँ खाजा खाने ठाउँ थिएन, पर्यटकहरु आफैँ खाना खाजा लिएर आउने गर्थे, रिसोर्ट सञ्चालनमा आएपछि सवारी साधनबाट समूहमा घुम्न आउनेहरु बढेका छन्”, उनले भने । टोड्के जाने मुख्य मार्गमा समेटिएका झिँ र पूर्णगाउँमा होमस्टे सञ्चालनमा रहेका छन् ।
मनमोहक मालिका धुरी
यस पदमार्गमा मालिका धुरी अर्को मुख्य गन्तव्य हो । समुद्री सतहदेखि तीन हजार चार सय मिटरको उचाइमा रहेको मालिका धुरी रमणीय दृष्यको अवलोकनको लागि प्रख्यात छ । मालीका गाउँपालिका–७ र रघुगङ्गा गाउँपालिका–६ को सीमा क्षेत्रको पहाडको टुप्पोमा अवस्थित मालिकाधुरीबाट वरिपरि हिमाल नियाल्दा मनै फुरुङ्ग बनाउँछ ।
यहाँको मनमोहकताले उकालो र जङ्गलको थकान भुलाइ दिने गर्छ । मन्दिर परिसरबाट आँखै अगाडि ठोक्किन आउने हिमालको लस्कर नियाल्दा खुसी, आनन्द र गौरवको महसुस गराउँछ । मालिकाधुरीबाट सूर्योदयको दृष्य मनमोहक देखिन्छ । धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, सिस्ने, गुर्जा, मानापाथी, मनास्लु लगायतका २० भन्दा बढी हिमशृङ्खलालाई मालिका धुरीबाट एकैसाथ अवलोकन गर्न सकिन्छ ।
प्राकृतिक सुन्दरताले प्रख्यात मालिका धुरी धार्मिक रुपमा महिमा बोकेको ठाउँ हो । यहाँ निर्माण गरिएको मालिकाको थानमा कालिका, मालिका र जालपादेवीको मूर्ति राखिएका छन् । मलिकाको पूजाआजा र भाकल गरेमा सन्तान, अध्ययन, रोजगारीलगायत मनोकाङ्क्षा पूरा हुने भएकाले चण्डी पूर्णिमा, भाइटिका, जेष्ठी पूर्णिमा र बालाचर्तुदशी पर्वमा भक्तजनहरुको भीड लाग्ने गर्छ ।
यहाँ म्याग्दीका मात्रै नभएर पर्वत, बागलुङ, कास्की, काठमाडौँलगायत स्थानबाट बर्सेनि हजारौँ भक्तजनको आगमन हुने गरेको छ । विसं १९१० देखि पूजाआजा हुन थालेको इतिहास रहेको मालिकामा पछिल्लो समय बलीको विकल्पमा नरिवल चढाउने चलन बसाइएको छ ।
यसरी पूरा हुन्छ पदयात्रा
टोड्केबाट मालिका धुरी–ठाडाखानी–कुइनेखानी–चौरखानीतर्फ भएर घ्यासीखर्क पुगेपछि यस पदमार्गमा मानव बसोबास रहेका गाउँबस्ती सकिन्छन् । यस पदमार्गले समेटिएको चिमखोलाको सेतिनी भ्यालीमा होटल सुविधा भए त्यहाँदेखि अगाडिको यात्रा भने क्याम्पिङ बन्दोबस्तको तय गर्नुपर्छ ।
टोड्के–धौलागिरि पानोरमा, धौलागिरि सेञ्चुरी र धौलागिरि आइसफल गरी तीन वटै पदमार्गले समेटिएको सेतिनी भ्यालीबाट नेपाली पर्यटक एक दिन र विदेशी पर्यटक दुई दिनकै यात्रामा धौलागिरि हिमालको दक्षिणी आधार शिविर पुग्न सकिन्छ । रघुगङ्गा नदीको किनारै किनार, वनजङ्गल, भीर पहाड र भञ्ज्याङ हुँदै निर्माण भएको यस पदमार्गको यात्रा साहसिक र रमणीय मानिन्छ ।
हिमालसँगै नदीनाला, खोला, झरना, ताल तलैयाकोे अवलोकन गर्न सकिन्छ । आधार शिविर नजिकैसम्म ग्लेसियरको सामाना गर्न नपर्ने भएकाले अन्य आधार शिविरको तुलनामा यो आधार शिविर पर्यटकको बसोबासका लागि सुरक्षित र कम जोखिमपूर्ण मानिन्छ । आधार शिविरमा रहेको निली बराह ताल र पदमार्गका ठाउँठाउँमा रहेका सेतीबराह, कालीबराह, लाटीबराहलगायतका ताल, तलैया पर्यटकका थप आकर्षण हुन ।
कालीबराह हुँदै मुस्ताङको लेते जोडिएको यो पदमार्ग एक सातादेखि १० दिनको पदयात्रामा पूरा गर्न सकिन्छ । यस पदमार्गको अध्ययन, खोज र अनुसन्धान भएकलाले नक्साङ्कनसहित पर्यटन पूर्वाधार बनाउन प्रदेश र सङ्घीय सरकारमा पहल थालिएको रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।
सडक सञ्जालले पुराना र स्थापित पदमार्गहरु मासिदै गएको सन्दर्भमा विश्वको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविरलाई समेटिएको यो पदमार्ग गण्डकी प्रदेशमै नयाँ र सम्भावनायुक्त गन्तव्यको रुपमा स्थापित हुन सम्भावना रहेको उनको भनाइ छ ।