काठमाडौं । श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ को संयुक्त आयोजनामा दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता सोमबारदेखि सुरु हुने छ ।
प्रतियोगितामा ३० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष निरज खड्काले जनाएका छन् । एट ए साइड स्वरुपमा हुने प्रतियोगितामा सहभागी टिमले ४० वर्षमाथिका ४, ४५ वर्षमाथिका ३ र ५० वर्षमाथिका १ खेलाडी समावेश गर्नु पर्ने छ ।
विजेताले २ लाख तथा उपविजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र ‘म्यान अफ द सिरिज’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिताको पहिलो दिन ५ खेल हुनेछ । पुस २९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु जावलाखेल मैदानमा खेलाइने छ । गत संस्करणको उपाधि कुपण्डोल ४० प्लसले जितेको थियो ।