शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने अवस्था छैन : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउने विषय राजनीतिक कारणले अड्किएको बताएका छन् ।

बुधबार काठमाडौंमा शान्ति प्रक्रिया र वेपत्ता नागरिकहरूको सार्वजनिकीकरणको सवाल विषयक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘अहिले टुंग्याउन कठिन भएको राजनीतिले नै हो । राजनीतिक कारणले नै हो । त्यहाँ कन्फ्युजन हुनुपर्ने कुरा केही पनि छैन ।’

अहिलेसम्मको स्थिति हेर्दा सडकबाट आन्दोलन नगरेसम्म शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउन अवस्था नरहेको प्रचण्डको भनाइ थियो ।

‘पीडितहरूले पटक पटक यो विषयलाई उठाइराख्नू, जरुरी पर्दा सडकमा पनि जाने तयारी गर्नू । किनकी अन्तिममा चाहीँ त सडक नै हुने हो की जस्तो मलाई,’ प्रचण्डले भने, ‘अन्तरक्रिया, गोष्ठी, विवाद, बहस पनि हो । त्यसले केही नि हुँदैन भन्ने मेरो भनाइ होइन । त्यसले पनि केही न केही वातावरण बनाउन मद्दत गरेको छ ।’

तर कानुनी भन्दा पनि राजनीतिक विषयका कारण शान्ति प्रक्रियाका बाँकी कामहरू टुंगिन बाँकी रहेको भन्दै उनले माओवादीलाई तह लगाउने अन्तिम अस्त्र यही बाँकी भएकाले नटुंग्याउन जोड दिइएको बताए ।

प्रतिक्रिया दिनुहोस्