मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन



लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट रु एक करोड ४३ लाख ५९ हजार नौ सय ९० सङ्कलन भएको छ । चालु आर्थिक वर्षमा दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम सङ्कलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

यही पुस १८ गतेदेखि २३ गतेसम्म दानपेटिकाको गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । उनले स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकार भएका व्यक्तिको उपस्थितिमा दानपेटिका खोली गणना गरिएको बताए ।

दानपेटिकामा सङ्कलित दानलाई क्लोज सर्किट (सीसीं) क्यामेराको निगरानीमा कोषका ३२ जना कर्मचारी खटाएर गणनाको व्यवस्था मिलाइएको थियो । मायादेवी मन्दिरको अवलोकन गर्ने तीर्थयात्रुहरूले श्रद्धाले यहाँ दान दिने गर्छन् । दानबापत सङ्कलित आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको कोषका कोषाध्यक्ष भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्