जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित



काठमाडौं । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्र बाबु राईलाई दलहरुले नेपाल ल्याउन नचाहेको बताएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले जिबी फर्किएको खण्डमा सबै नेताहरुको पोल खुल्ने डर रहेको बताएका हुन् । साना–ठूला सबै भ्रष्टाचारको काण्डमा दलका नेताहरुको संलग्नता रहने गरेको उनले दाबी गरे ।

‘जिबी राई फर्काउने कुरै छैन । किनकी जिबी फर्कियो भने पोल खुल्छ । याद गर्नुस्, नेपालमा सानो भ्रष्टाचार होस् कि ठूलो ? नेताहरुको संलग्नता नरहेको त छदै छैन । त्यसैले जिबी राईलाई कुनै पार्टीले पनि ल्याउन चाहँदैन । उ नआई पीडितले पैसा पाउँदैनन्,’– उनले भने ।

साथै, वर्तमान सरकारले कुनैपनि भ्रष्टाचारको मुद्दामा अनुसन्धान अगाडि बढाउन नसकेको बताए । उनले कम्बोडिया काण्ड, गिरीबन्धु, भुटानी शरणार्थीलगायतका काण्डमा अनुसन्धान नै अगाडि बढ्न नसकेको बताए ।

उनले भने, ‘कम्बोडियाको कुरा छ, प्रष्ट देखिएको छ, त्यो चुपचाप छ । कम्बोडियाको कुरा गर्नेवित्तिकै प्रसाईँजीलाई थुन्दिहाले । आज उहाँ बोल्नै नसक्ने अवस्थामा हुनुहुन्छ । गिरिबन्धु छ, शेरादरबार, जनमुक्ति सेनाको पैसाको कुरा आउँछ, भु्टानी प्रकरण छ, कुनैपनि मुद्दा अगाडि बढ्न सकेको छैन । हामी चुर्लुम्म भ्रष्टाचारमा डुबेका छौं । अगाडि उज्यालो छ भन्ने अवस्था आज हामीसँग छैन ।’ साथै, कास्की जिल्ला अदालतको आदेशलाई रवि लामिछानेको जितको रुपमा लिन नहुने उनले बताए ।

देशभरका ७६ हजार बचतकर्ता सहकारीबाट पीडित भएको र पीडितको पक्षमा कसैले पनि चासो नदेखाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘रवि लामिछानेको कसरी जित हुन्छ ? पीडितले पैसा पाएकै छैनन् । हामीले पीडितको कुरा गरेकै छैनौं । १८ हजारमात्रै पोखरामा पीडित छन् । ७६ हजार मान्छे देशव्यापी पीडामा छन् । पीडित कतिको जिन्दगी खतम भएको छ । कसैले पीडितको लागि केहीपनि बोलेका छैनन् । पीडितको मतलब नै छैन हामीलाई ।’

एउटा व्यक्ति (लामिछाने) माथि सबैको ध्यानाकार्षण भएको तर ७६ हजार पीडितलाई कसैले वास्ता नगरेको उनले बताए । उनले सहकारी पीडितको पक्षमा लेखिदिन र बोलिदिन सबैलाई आग्रह गरे । अदालतले पनि पीडितको हित हुनेगरी आदेश गर्नुपर्ने उनको माग छ ।

प्रतिक्रिया दिनुहोस्