काम रोक्न होइन गर्न अध्यादेश ल्याएका हौं : प्रधानमन्त्री ओली



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काम रोक्नका लागि नभइ गर्नका लागि अध्यादेश ल्याएको दाबी गरेका छन् ।

सरकारले जारी गरेको अध्यादेश अबको १५/२० दिनमा संसद्मा पेश भएर दुई महिनाभित्र कानुनको रुप पनि लिइसक्ने प्रधानमन्त्रीले बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को २५औं स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई महिनासम्म देशका कामहरू रोक्न नहुने जिकिर गरे ।

‘अहिले हामीले भर्खर कानुन अध्यादेशमार्फत ल्याएका छौँ । कतिपयले त्यसको विरोध गर्न खोजिरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘१५-२० दिनभित्र संसद् आइसक्छ । संसद् आएको पहिलो दिन त्यहाँ पेश गर्छौं । त्यहाँ छलफल गर्छौं । र अगाडि बढाउँछौं ।’

साथै, उनले एउटा देशका लागि दुई महिनाको समय धेरै नै महत्त्वपूर्ण रहेको बताउँदै विकासको काम अघि बढाउने र जनताको सेवा गर्ने व्यवसायमैत्री सकारात्मक कानुनहरूको निर्माण अहिलेको अवश्यकता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्