भृकुटीमण्डपमा फर्निचर एक्स्पो सुरु



काठमाडौँ । नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत मुलुकका काठजन्य सामग्री उत्पादक क्षेत्रका एक सयभन्दा बढी कम्पनीका विभिन्न ब्राण्डहरू प्रदर्शनीमा राखिएका छन् ।
  
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रदर्शनीको उद्घाटन गर्दै मुलुकमा उद्योग स्थापना हुन नसक्दा स्वरोजगारका लागि प्रदान गरिएका तालिममा गरिएको लगानीबाट लाभ लिन नसकिएको बताए । उनले सरकारले विभिन्न प्राविधिक तालिम प्रदान गरे पनि तत्काल रोजगारी प्राप्त गर्न नसक्दा लगानीको लक्ष्य र प्रतिफल प्राप्त गर्न नसकिरहेको अवस्थामा काठजन्य उद्योगले त्यस्ता जनशक्तिको सदुपयोग गर्न आवश्यक रहेको धारणा राखे ।

मन्त्री भण्डारीले भने- ‘सीप प्राप्त जनशक्तिलाई साना उद्योग खोल्न सरकार,निजीक्षेत्र र बैंकलगायत वित्तीय संस्थाले सहयोग गर्नुपर्छ । उद्योग क्षेत्रमा नयाँ प्रविधि र उपकरण भित्र्याउन सातै प्रदेशको सदरमुकाममा यस्ता प्रदर्शनी आयोजना गरिनुपर्छ, जसबाट स्वरोजगार हुन सहयोग पुर्याउँछ ।’

विदेशमा प्रयोग भएका नवीनतम प्रविधि नेपाल भित्र्याउने, उद्योग व्यवस्थापन गर्ने र नेपालका कच्चापदार्थको प्रयोग गरी उत्पादन गरिएका वस्तुहरू विदेश निर्यातका लागि सहजीकरण गर्ने उद्देश्यले मेला आयोजना गरिएको जनाइएको छ ।  ‘विदेशी कम्पनीले काठजन्य सामग्री उत्पादनमा प्रयोगमा ल्याएका नवीनतम प्रयोगबारे एकै थलोबाट नेपाली उद्यमीले जानकारी प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको छ । यसले हाम्रा उत्पादनको बजार प्रवर्द्धनमा समेत टेवा पुग्नेछ’, मिडिया स्पेस सोलुसनका प्रबन्ध निर्देशक सृजल भट्टराईले भने- ‘हाम्रो अर्थतन्त्र उत्साहजनक ढङ्गले अघि बढ्न नसकिरहेको परिस्थितिमा नेपाली उद्योगलाई कसरी माथि लैजान सकिन्छ भनी जानकारी दिने प्रदर्शनी सफल हुने अपेक्षा गरिएको छ ।’

प्रदर्शनीमा काठजन्य उत्पादन प्लाइउडदेखि घर, होटल, रेष्टुरेन्ट र महलका ढोका, झ्याल, भर्याङ तथा अन्य फर्निचर र सजावटका सामग्री उत्पादन कम्पनीका एक सयभन्दा बढी कक्ष छन् । प्रविधि हस्तान्तरणसहितको लक्ष्य लिइ आयोजना गरिएको प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । तीनदिने प्रदर्शनीमा करिब ३० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । 

प्रदर्शनीमा ‘एआई’का माध्यमबाट घरभित्रको साजसज्जा कसरी गर्ने तथा साँघुरो ठाउँमा अन्तरिक सजावट गर्न सकिने विभिन्न उपायबारे जानकारी प्राप्त हुनेछ । प्रदर्शनीका क्रममा माघ ५ र ६ गते सरोकार भएकाहरूबीच फर्निचर क्षेत्रबारेमा जानकारी गराउन कार्यशालासमेत गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्