कैलाली । कैलालीको कैलारी गाउँपालिकास्थित मनिकापुर गाउँका रामदिन चौधरी दोस्रो कार्यकालका लागि गाउँको ‘भलमन्सा’ पदमा चुनिएका छन् । गाउँको थारु समुदायमा ‘भलमन्सा’ को जिम्मेवारीमा रहेर काम गरेको अनुभवका आधारमा उनलाई पुनः दोस्रोपटक सर्वसम्मत रुपमा भलमन्सामा चयन गरिएको हो ।
भलमन्साको जिम्मेवारी लिइसक्नुभएका बद्रीनारायण चौधरीले मलाई समर्थन गर्नुभयो”, उनले भने, “अरुले पनि आग्रह गरेपछि पुनः जिम्मेवारी लिएको हुँ ।”
सोही गाउँपालिकाको बिसनपुर गाउँमा भलमन्सा छनोट गर्न बसेको बैठकले सोनुराम चौधरीलाई भलमन्सा तोक्ने निर्णय गरेको छ । दुई वर्षसम्म लगातार भलमन्साको जिम्मेवारीमा बहन गरिसकेका सोनुरामले साथीभाईको सरसल्लाहमै आफू पुनः यो पदको जिम्मेवारी लिन मञ्जुर भएको बताए । उनले भने, “गाउँमा आफ्नो नेतृत्वमा वर्षभरि भएका कामबाट सबै खुसी हुनुहुन्छ ।”
गोदावरी नगरपालिका–८ को थारु गाउँमा यमबहादुर चौधरी भलमन्सा भएका छन् । माघी पर्व सुरु भएसँगै गाउँको मुख्य व्यक्ति मानिने भलमन्सा, चौकीदार, गुरुवा, चिराकी, अघरियालगायतका पदमा व्यक्ति छनोट गर्ने चटारो यतिबेला थारु समुदायमा छ ।
पदमा बसेर काम गर्न नसक्नेलाई पदमुक्त गरेर अर्को व्यक्तिलाई भलमन्साको जिम्मेवारी दिइने गरिन्छ । कतिपय स्वाइच्छाले यो जिम्मेवारीबाट अलग हुन्छन् । थारु समुदायमा मुख्य व्यक्तिको रुपमा रहने भलमन्सालाई सकभर सर्वसम्मतिले र त्यसो हुन नसके निर्वाचन प्रक्रिया अथवा गोला ९चिठ्ठा० प्रक्रिया अपनाएर प्रजातान्त्रिक ढङ्गले छनौट गरिन्छ । गाउँको भलमन्सा पदमा चुनिने व्यक्तिको घरलाई यो समुदायमा ‘बडघर’ भनिन्छ ।
कतिपय वस्तीमा यस्तो भेला भइसकेर भलमन्सा छनोटको काम पूरा भइसकेको छ भने अन्य कतिपय गाउँमा छनोट गर्ने काम भइरहेको छ । पूरै वडाको हकमा निर्वाचित जनप्रतिनिधिको भूमिका रहने गरे पनि समुदायको गाउँ टोलको हकमा भने बढी भूमिका भलमन्साको हुने गरेको पाइन्छ ।
थारुमा माघीको रौनकसँगै आवश्यकताअनुसार ‘बडघर’ बैठकहरु बसिरहेका छन् । यस्ता बैठकमा वर्ष दिनमा गाउँ टोलमा भलमन्साको नेतृत्वमा भएका कामबारेमा आपसमा छलफल, विश्लेषण, गुनासो सुन्ने र सुनाउने काम हुनेगर्छ ।
माघको पहिलो हप्ताभित्र अथवा ढिलोमा दुई हप्ताभित्रमा वर्षभरी भलमन्साको नेतृत्वमा गाउँमा भए गरेका कामको समीक्षा गर्ने, सार्वजनिक काममा भएको खर्चको हिसाब किताब गर्ने जस्ता काम गरिन्छ ।
‘गुरुवा’ (वैद्यको काम गर्ने) ले मानिस, गाईवस्तु र अन्न बालीमा देखिने रोगको समस्या समाधान गर्ने जिम्मेवारी बहन गर्नुपर्ने हुन्छ । ‘चिराकी’ ले देवस्थल र घरमा हुने शुभकार्यमा बत्ती बालेर पूजाको काम काम गर्छ । ‘चौकिदार’ले आफ्नो गाउँठाउँमा कुनै कामका लागि भेला बोलाउनुपरेमा गाउँका मान्छेलाई हाँक गर्ने (बोलाउने)काम र ‘अघरिया’ले भलमन्साको सहायकको रुपमा काम गर्नुपर्ने परम्परा छ ।