इच्छाकामना मन्दिरमा दर्शनार्थीको घुइँचो



चितवन । चितवनको इच्छाकामना गाउँपालिका– ५ मा रहेको एतिहासिक धार्मिकस्थल इच्छाकामनाको मन्दिरमा धार्मिक पर्यटकको आवागमन बढेका छन् । गोरखाको सहिद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको आमनेसामने रहेको यस इच्छाकामना मन्दिरमा प्रचारप्रसार र मन्दिर पुनः निर्माणसगैँ  धार्मिक पर्यटकरतको आवागमन बढेको हो । 

मन्दिरका पुजारी हर्कबहादुर गुरुङका अनुसार शनिबार र सार्वजनिक बिदाको दिन मन्दिरमा दर्शनार्थीहरुको भीड नै लाग्ने गरेको छ । उनले भने, ‘यहाँ मन्दिर पुनःनिर्माणलगायत विभिन्न आवश्यक संरचना बनेका छन्,पछिल्लो केही वर्षयाता प्रचारप्रसार बढेकाले पनि दर्शनार्थीको आवागमन बढेका हो ।’

 यहाँको सुन्दर दृश्य अवलोकन गर्न र पिकनिक मनाउन पनि पर्यटक आउने गरेको पुजारी गुरुङको भनाइ छ ।  उनका अनुसार समुद्री सतहबाट एक हजार आठ सय मिटरको उचाइमा रहेको ईच्छाकामना मन्दिरको वरपर जङ्गलले ढाकेको छ । फागुन र चैतमा ढकमक्क फुलेको लालीगुराँसले वरिपरिको वातावरण रङ्गिन बन्छ । इच्छाकामनाबाट सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश, माछापुच्छ्रे देख्न सकिन्छ । 

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले धार्मिक पर्यटकीयको रूपमा विकास हुँदै गएको यस क्षेत्रमा मन्दिर पुनःनिर्माणसहित आवश्यक विभिन्न भौतिक संरचना निर्माण गरिएको बताए । उनका अनुसार मन्दिरको आम्दानीलाई पारदर्शी बनाउन गाउँपालिकाको मातहतमा ल्याइएको छ । पुजारी र हेरालु सरसफाइका कर्मचारीलाई गाउँपालिकाले मन्दिरको भेटी आम्दानीबाट तलब उपलब्ध गराउँदै आएको छ । यहाँ लिफ्टिङ प्रविधिबाट खानेपानीको पनि व्यवस्था गरिएको  उनले बताए । 

 मनकामनाका सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती छ । ईच्छाकामनाको मन्दिरमा सन्तान नभएकाले भाकल र पूजाआजा गरे सन्तान प्राप्त गर्ने सदियौँदेखि जनविश्वास रहेको छ । 

अध्यक्ष गुरुङका अनुसार इच्छाकामना मन्दिरमा प्रत्येक वर्ष मङ्सिरको ठुलो एकादशीपछि पञ्चमी तिथिमा ठुलो मेला लाग्छ । मेलाका दिन  गाउँपालिकाले सार्वजनिक बिदासमेत दिँदै आएका  छन् । मोटरबाटो खुलेपछि पछिल्लो समय मनकामना आएका दर्शनार्थी इच्छाकामना पनि आउने  गरेको छ । 

भारतीय पर्यटकसमेत मन्दिर दर्शनका लागि आउन थालेको पुजारी गुरुङले जानकारी दिए । फिस्लिङ शक्तिखोर सडक र मुग्लिन तामिन सडक प्रयोग गरेर पर्यटकहरू मन्दिर पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्