काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज झिनो अंकको सुधार देखिएको छ । परिसूचक पाँच दशमलव ०८ अंकले बढेर दुई हजार छ सय १३ दशमलव ०८ को विन्दुमा कायम भएको हो ।
आज तीन सय ११ कम्पनीको एक करोड १६ लाख २६ हजार २० कित्ता शेयर ६९ हजार आठ सय ४० पटक खरिदबिक्री हुँदा छ अर्ब १९ करोड एक लाख ४१ हजार आठ सय ९१ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव ३५, वित्त एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ९२, म्युचुअल फन्ड शून्य दशमलव ४८ र व्यापार समूह दुई दशमलव १० प्रतिशतले घटेको छ । अरू सबै समूहको उपसूचक बढेको छ ।
विकास बैंक शून्य दशमलव १९, होटेल तथा पर्यटन शून्य दशमलव ७८, लगानी शून्य दशमलव ७४, जीवन बिमा एक दशमलव १० र उत्पादन तथा प्रशोधन शून्य दशमलव ८९ प्रतिशतले बढेको छ । त्यसैगरी लघुवित्त शून्य दशमलव ०३, निर्जीवन बिमा एक दशमलव ७८ र अन्य समूह दुई दशमलव ७९ प्रतिशतले बढेको छ ।
मन्दाकिनी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने रिभर फल्स पावर लिमिटेडको शेयर मूल्य आठ दशमलव ९६ प्रतिशतले घटेको छ ।