काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलो शंकास्पद वस्तुसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । त्यो वस्तु लागूऔषध हुनसक्ने शंका गरिएको छ ।
क्याथे प्यासिफिक एयरलाइन्सबाट हङकङ जान लागेका चिनियाँ नागरिकको सुटकेशभित्र सोमबार लागूऔषध जस्तो देखिने वस्तु भेटिएको थियो ।
‘उनले त्यो के हो भनेका छैनन्, तर लागूऔषध भएको शंका लगेर केरकार गरेका थियौं’, विमानस्थल सुरक्षमा खटिएका एक अधिकृतले भने ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले पनि लागूऔषध जस्तो देखिने वस्तु बरामद भएपछि लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) लाई बुझाइएको पुष्टि गरेका छन् । उनले भने, ‘नियमित जाँचका क्रममा भेटिएपछि थप अनुसन्धानका लागि पठाएका छौं ।’
लागूऔषध नियन्त्रण ब्यूरोले बरामद वस्तुलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको छ । ‘नतिजा आएपछि सार्वजनिक गर्छौं’, ब्यूरोका प्रवक्ता रामेश्वर कार्कीले भने ।