सिन्धुलीमा विद्यार्थीलाई जाडोबाट बचाउन ‘कम्बल’ वितरण



सिन्धुली । ब्याक टु लाइफ इभि जर्मनी नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सिन्धुलीको गोलन्जोर गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत चिसोबाट प्रभावित विद्यार्थीहरूलाई कम्बल वितरण गरेको छ ।

चिसोबाट जोगाउन गाउँपालिका भित्रका विभिन्न ९ सामुदायिक विद्यालयमा अध्ययनरत ५ सय ५९ विद्यार्थीहरूलाई कम्बल वितरण गरेको हो ।

ब्याक टु लाईफले गोलन्जोर गाउँपालिका–१ धनसारमा रहेको सिद्धेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थी,  वडा नं २ को बाल प्रगतिशील आधारभूत विद्यालय हमाल डिहीका १५ जना र बालहरि आधारभूत विद्यालय भन्ज्याङका ४५जना विद्यार्थीलाई  कम्बल वितरण गरेको ब्याक टु लाईफका निर्देशक अच्युत प्रसाद पौडेलले बताए । त्यसै गरी गाउँपालिका- ३ मा रहेको कुशेश्वरी आधारभूत विद्यालय सिम्लेबेसीमा अध्ययनरत १६ जना र आधारभूत विद्यालय धेद्रेका २० जना विद्यार्थीलाई कम्बल वितरण गरिएको छ ।

त्यस्तै निर्देशक पौडेलका अनुसार गाउँपालिकाको वडा नं ४ मा रहेको वत्सला मावि दिङदिङ्ग किराँतेका २ सय ३७ जना, आधारभूत विद्यालय ट्वाङट्वाङ्गेका ३६ जना र वडा नं. ६ को मङ्गला माध्यमिक विद्यालय घोक्सिलामा अध्ययनरत १ सय १५ जना र आधारभूत विद्यालय नाकाजोलीका ३० जना विद्यार्थी हरूलाई गाउँपालिका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने सहित वडाध्यक्षहरूको उपस्थितिमा कम्बल वितरण गरिएको थियो ।

ब्याक टु लाईफले दिएको कम्बल पाएपछि त्यहाँका विद्यार्थी र अभिभावकहरूले खुसी व्यक्त गरेका छन् । जाडो याममा कम्बल दिएर आफूहरूलाई न्यानो माया दिएको भन्दै उनीहरूले ब्याक टु लाईफलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्