काठमाडौं । ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजनामा प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
जुनियर ब्वाइजमा २४ र जुनियर गल्र्समा १६ गरी ४० टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा ज्ञान संस्कारकी प्रधानाध्यापक निलम बानिया बडूले जानकारी गराइन् । ब्वाइज टिमलाई ८ समूह तथा गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । ब्वाइजको प्रत्येक समूहबाट शीर्ष २ टोली प्रिक्वाटरफाइनलमा पुग्ने छन् । गल्र्सको हरेक समूहको विजेता र उपविजेता क्वाटरफाइनलमा प्रवेश गर्ने छन् ।
विधागततर्फ ‘मोस्ट भेलुएबल प्लेयर’ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ र सर्वाधिक स्कोरकर्तालाई पनि पुरस्कृत गरिने छ । प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक पूर्ण न्यौपानेले जानकारी दिए । प्रतियोगितामा कक्षा ७ सम्म अध्ययनरत विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने छन् ।
जुनियर ब्वाइज स्पर्धा मात्र समावेश गरिएकोमा प्रधानाध्यापक बडूले भनिन् ‘अहिले हाम्रो विद्यालयमा कक्षा ७ सम्म पढाई हुन्छ । त्यसैले हामीले जुनियरको स्पर्धा मात्र समावेश गरेका हौं । हरेक वर्ष हामी कक्षा पनि बढाउदै जान्छौं । त्यसै अनरुप प्रतियोगिताको संरचनालाई पनि परिवर्तन गर्दै जाने छौं ।’
प्रतियोगिताका खेलहरु सामाखुशीस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ । प्रतियोगितामा जम्मा ७० खेल हुनेछ । फाइनल माघ १८ गते हुनेछ ।