स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : मन्त्री पौडेल



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको पेसागत हकहित समेटिने बताएका छन् ।

नेपाल नर्सिङ सङ्घको ६३औँ वार्षिकोत्सव तथा साधारणसभामा उनले स्वास्थ्य सेवा ऐनको मस्यौदा बनिरहेको जानकारी दिँदै भने, “ऐनको मस्यौदा बन्दै छ । नर्सिङको हकहितका लागि पनि विषय समेट्छौँ । सम्भवतः यही ‘सेसन’ मा पास गर्छौं ।”

नर्सिङ जनशक्ति पलायन हुन नदिन सुविधा वृद्धि गर्ने, सुरक्षित वातावरणमा काम गर्ने अवसर प्रदान गर्ने, राम्रो काम गर्नेलाई प्रोत्साहन र पुरस्कृत गर्ने, व्यक्तित्व विकासमा ध्यान दिएर काम गर्ने वातावरण तयार गरिने मन्त्री पौडेलले बताए । उनले व्यक्तिगत पहुँचका आधारमा नभई पदोन्नतिका विधिका आधारमा गरिनुपर्ने बताए ।

मन्त्री पौडेलले भने, “श्रम ऐनले तोकेको दक्ष जनशक्तिलाई २२ हजारभन्दा तल दिन पाइँदैन । यसबारे रिपोर्ट गरेमा प्रमाणका आधारमा अस्पतालको सम्बन्ध खारेज गर्छौं । धेरैले रिपोर्ट गर्न डराउनुहुन्छ । आफ्नो अधिकारको लागि आफैँ लड्नुपर्छ ।”

नर्सिङ सङ्घकी अध्यक्ष चन्द्रकला शर्माले नर्सहरू विकराल अवस्थामा काम गरिरहेको बताउँदै यसमा सरकारले ध्यान दिनुपर्ने बताइन् । उनले भनिन्, “विश्वव्यापी नै नर्सहरूको खडेरी भइरहेको अवस्था छ । नर्सजस्तो प्राविधिक जनशक्तिलाई दैनिक ज्यालादारीमा काम गराइरहेका छन् । तलब भत्ता, सेवा सुविधा न्यून छ । तलब सरकारले भनेअनुसार पाएका छन् वा छैनन् भन्नेमा अनुगमन हुनुपर्छ ।”

नर्सिङ सङ्घकी पूर्वअध्यक्ष तारा पोखरेलले नर्सहरूलाई देशमै बस्ने वातावरण सरकारले मिलाउनुपर्ने धारणा राखिन् । उनले भनिन्, “देशभर एक लाख २० हजार बढी नर्सले लाइसेन्स लिइराख्दा ५० हजार नर्स पनि छन् वा छैनन् भन्नेमा शङ्का छ किनकि नेपालमा काम गर्ने वातावरण छैन । दैनिक ज्यालादारीमा काम गर्ने भए कसले काम गर्छ रु नर्सहरू पलायन भइरहेका छन् । सबै पलायन भए के देशले नर्सलाई आयात गर्न खोजेको हो रु नर्सहरू पलायन हुन नपरोस् ।”

नेपाल चिकित्सक सङ्घका अध्यक्ष अनिलविक्रम कार्कीले नर्सबिना चिकित्सकहरू जहिल्यै पनि अपुरो हुने बताए ।

प्रतिक्रिया दिनुहोस्