ह्यान्डबल सुरु



प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन घरेलु टोलि गण्डकीले दुई खेलमा जित निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको छ । गण्डकीले सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हराउँदै अन्तिम चारको यात्रा सुरु गरेको हो ।

प्रतियोगिताको पहिलो दिन कुल चार खेल सम्पन्न भए । पहिलो खेलमा गण्डकीले सुदुरपश्चिमलाई ३५–१७ गोलले पाखा लगायो । गण्डकीका लागि पवन छन्त्यालले सर्वाधिक ११ गोल गरे । यस्तै सुदुरपश्चिमका लागि सरोजकुमार सिंहले ६ गोल गरे ।

दोस्रो खेलमा एपिएफले लुम्बिनीमाथि ३०–९ को फराकिलो जित निकाल्यो । एपिएफका लागि नितेश धिमालले ५ गोल गरे भने लम्बिनीका लागि मनोज थारुले ५ गोल गरे ।

तेस्रो खेलमा गण्डकीले कर्णालीलाई ४२–१६ को अन्तरले पाखा लगायो । गण्डकीका लागि प्रलेश गुरुङले १२ गोल गरे । यो जितसंगै गण्डकी एक खेल अघि नै सेमीफाइनलमा प्रवेश गरेको हो ।

यस्तै चौथो खेलमा कोशीले प्रतिस्पर्धात्मक खेलमा सुदुरपश्चिमलाई २२–१९ ले हरायो । प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले देशलाई चिनाउने काम खेलाडीले गर्दै आइरहेको र गण्डकी प्रदेशमा खेलकुदमा विषयमा केहि नवितनम योजनाहरु अघि सारिएको सुनाए । उनले खेलाडी विमा, खेलकुदमा पदक लगायत विषयमा कार्यविधि बनाइ खेलाडी तथा खेलकर्मीको सम्मान गर्ने उदेश्यका साथ अघि बढेको बताए । उनले राज्यले खेलकुदमा बजेट विनियोजन निकै न्युन गर्दा खेलकुदको विकास पछि परेको बताए ।

त्यस्तै दक्षिण एसियाली ह्यान्डबल महसंघका उपाध्यक्ष तेजबहादुर गुरुङले अब ह्यान्डबलका गतिविधिहरु अघि बढ्ने बताए । उनले विविध कारणले अहिलेसम्म नेपालमा ह्यान्डबलको गतिविधि रोकिन पुगेको जनाउँदै अब भने त्यसको अन्त्य हुने तर्फ अघि बढेको उल्लेख गरे ।

प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र दुई विभागिय टोलीे त्रिभुवन आर्मी क्लब र एपिएफ क्लबको सहभागिता रहेको छ । लिग कम नकआउटका आधारमा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगिताको उपाधि बिजेता टिमले नगद रु १ लाख, उपविजेताले नगद ५० हजार र तेस्रो हुने टिमले नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्