बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर



भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने यो स्थानका स्थानीयवासीले बसाइँसराइ गर्दा बस्ती खण्डहरमा परिणत भएका हुन् ।

डेढ दशकको अवधिमा यो क्षेत्रबाट करिब एक सय ५० घरपरिवार अन्यत्र जाँदा बस्ती नै खण्डहर बनेको स्थानीयवासी तथा भानुभक्त प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रकाश पराजुलीले बताए ।  मुख्य रूपमा बाँदर र पानीको समस्याले बसाइँसराइ बढ्दा अर्चले, भोर्लेनी, दमाईछाँप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरिय बस्ती खालीझै बनेको उनले बताए । सविकको वडा नं ८ र ९ पर्ने यी क्षेत्रबाट ९८ प्रतिशतको हारहारीमा मानिसहरूले गाउँ छाडेर अन्यत्र गइसकेको उनले बताए । 

अर्चले गाउँका जम्मा ३५ घरमा अहिले दुई घर, भोर्लेनीका ३३ घरमध्ये तीन घर, दमाईछाँपमा ८० घरमध्ये ४० घर र थाक्लेमा २५ घर रहेको बस्तीमा अहिले दुई घरमात्र रहेको उनले बताए । त्यस्तै गुराँसे, राणागाउँमा ६५ घर रहेकामा अहिले ३५ र मोहोरियामा ८० घरपरिवारमा अहिले ३५ घरपरिवार मात्र बाँकी रहेको शिक्षक पराजुलीले बताए । 

विगतमा आफूले अध्यापन गराइरहेको भानुभक्त प्राथमिक विद्यालयमा तीन सयका हारहारीमा विद्यार्थी हुने गरेको भए पनि अहिले ५० जना मात्र रहेको उनले बताए । 

बाँदरको समस्याले किसानलाई हैरान बनाएको अर्चलेका स्थानीयवासी जगतकुमार तामाङले बताए ।  खाली रहेको बस्तीको एक घरमा अहिले ठेक्कामा बस्दै आएको उनले बताए । अर्चलेमा आफूसहित अहिले दुई घर मात्र रहेको उनको भनाइ छ । बाहिर गएकाहरूले घरजग्गा बिक्री नगरी त्यत्तिकै छाडिएकाले संरक्षण अभावमा ती घर पनि भत्किन थालेको उनको भनाइ छ ।

सबैले छाडेको बस्तीमा बस्दा जीवन निर्वाह गर्न निकै कठिन रहेको उनको भनाइ छ । बस्ती खाली भएको कारण बाँदरले झनै दुःख दिने गरेको उनले बताए । सबैले बस्ती छाडेका कारण विद्युत् विस्तार हुने नसकेको उहाँको भनाइ छ । स्थायी रूपमा बसोबास गर्ने मानिस नै नहुँदा विद्युत् विस्तारमा पनि समस्या भएको छ ।

राज्यले बाँदर नियन्त्रणसँगै खाली रहेका बाँझो जमिनलाई प्रयोगमा ल्याउने खालका कार्यक्रम नल्याएको खण्डमा यस्ता धेरै बस्ती खण्डहर बन्ने अवस्था रहेको तामाङले बताए । 

प्रतिक्रिया दिनुहोस्