
बूढानीलकण्ठ डोजोले प्रथम बूढानीलकण्ठ मेयर कप काठमाडौं उपत्यकाव्यापी सितोरियो कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बूढानीलकण्ठले १२ स्वर्ण, ५ रजत र १० कांस्य जितेको प्रतियोगिता संयोजक प्रेम लामाले जनाएका छन् ।
बूढानीलकण्ठ नगरपालिकाको आयोजना तथा नेपाल सितोरियो कराते शाखा डोजो गल्फुटारको समन्वयमा भएको प्रतियोगितामा गोल्फुटार ५ स्वर्ण, ५ रजत र ५ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको श्रीयन्त्रले ३ स्वर्ण, ४ रजत र ३ कांस्य हात पा¥यो । १ स्वर्ण, ३ रजत र ३ कांस्यसाथ स्टार स्कुल चौथो स्थानमा रह्यो ।
बूढानीलकण्ठमा भएको प्रतियोगिताको पुरुषमा बूढानीलकण्ठका लक्ष्मण बराल तथा महिलामा गोल्फुटारकी सुष्मा राई उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा श्रीयन्त्रका गोइदुप तामाङ र महिलामा क्यामेलियाकी विशिका मगर उदीयमान खेलाडी चुनिए । मूलपानी डोजोले अनुशासित टिमको ट्रफी हात पार्दा प्रोग्रेसिभ स्कुल मार्च पास्टमा उत्कृष्ट ठहरियो ।
विजेतालाई बूढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी, बूढानीलकण्ठ नगरपालिका खेलकुद बोर्डका संयोजक एवं वडा ८ का अध्यक्ष सुमन तामाङलगायतले पुरस्कृत गरे । सो अवसरमा एकेएफ निर्णायकत्रय सिर्जना अधिकारी, हीरादेवी राई, शान्ति तामाङलगायत बूढानीलकण्ठका सिनियर खेलाडीलाई सम्मान पनि गरिएको थियो ।