आज नास्तिक दिवस-हिजो भौतिकवादीहरूको बहस 



नास्तिक दिवसको पूर्व सन्ध्यामा काठमाडौँको ल क्याम्पसमा भौतिकवादी समाज नेपाल, उपत्यका समितिको आयोजनामा शनिवार एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो। विश्वभर कुनै पनि खालको ईश्वर नमान्नेहरूले आज विश्वभर नास्तिक दिवस मनाउने गर्छन्। नास्तिकहरूले आफूलाई भौतिकवादी पनि भन्ने गर्छन्। नास्तिकहरूले कुनै पनि अप्रमाणित कुरा विश्वास गर्दैनन्। भौतिकवादी समाज गत वर्षदेखि नेपालका विभिन्न भागमा भौतिकवादीहरूलाई जोड्ने काममा लागेको संस्था हो, जसको अध्यक्ष हुन्, वैद्यनाथ श्रमजीवी। 

कुनै पनि औपचारिकताबिना सिधै बहस र अन्तर्क्रिया भएको सो कार्यक्रमको सञ्चालन फूलमतीले गरेकी थिइन्। कार्यक्रमका दुई वक्ता थिए प्रकाश विकल्प र डा. खगेन्द्र प्रसाईँ। विकल्पको भर्खरै बजारमा एन्टीथेसिस नामक पुस्तक बजारमा आएको छ भने प्रसाईँ जानेमाने मार्क्सवादी विश्लेषक हुन्। 

कार्यक्रममा विचार राख्दै विकल्पले अध्यात्म या ईश्वरवादका कारण हामीलगायत संसारका धेरै देश पछि परेको र भौतिकवाद अपनाउनेहरू अघि बढेको बताए। यदि धर्म र अन्धविश्वास हुन्थेनन् भने समाज दुई हजार वर्षअघि नै समाजमा लोकतन्त्र स्थापना भएको हुनसक्ने तर्क थियो। उनले मन्तव्य राख्दै भने, मान्छेले नै ईश्वर बनाएका हुन्। संसारमा हजारौँ ईश्वरहरू रहेबाट पनि सो प्रस्ट बुझिन्छ। 

यता प्रसाईँले भने, ‘पुराना धार्मिक कथाहरूमा ईश्वर मान्छेजस्ता छन्, मुसा र हाँसमा चढ्छन्। तर यथार्थमा त्यस्ता ईश्वर भेटिँदैनन्। तर ईश्वरको प्रभाव हरेक समाजमा छ र त्यसले मान्छेको मनोविज्ञान निर्माणमा भूमिका खेलेको छ।’ धर्मका नाममा संसारमा एकअर्काप्रति द्वेष, घृणा र हिंसाका घटना हुने गरेकाले अबको समाजले भौतिकवादी सोच अँगाल्नुपर्ने उनले बताए। उनले भने ” संसारका ९० प्रतिशत अध्यात्मवादीहरू नास्तिक नै हुन्, किनकि ती सबैले आफूले मानेको देवताबाहेक संसारका अन्यले  मान्नेले धर्महरूको निन्दा नै गर्छन्।” 

उपत्यका शाखाका उपाध्यक्ष तारा गाउँलेले विशेष सक्रियतामा भएको सो कार्यक्रमलाई रामदेव पाण्डे, शम्सेर र रवि गुरागाईँको साथ थियो। 

कार्यक्रममा मन्तव्य राख्दै गाउँलेले आगामी दिनमा निरन्तर यस्ता कार्यक्रम गर्ने वचनबद्धता व्यक्त गरे। त्यस्तै पाण्डेले भौतिकवादीहरूले अन्धविश्वास चिर्ने गरी आगामी दिनमा कार्यक्रम आयोजना गर्न आवश्यक भएको बताए। उनले भौतिकवादीहरूले आफ्नै खालका केही मौलिक संस्कार निर्माण गर्न आवश्यक भएकाले त्यसमा आफूले काम गरिरहेको बताए। 

प्रतिक्रिया दिनुहोस्